नेपालगन्ज ८ जेठ : कोभिड–१९ को पहिलो र दोस्रो सङ्क्रमणबाट नेपाल प्रहरीमा सेवा गरिरहेका ९ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीको मनोबल घट्ने भन्दै प्रहरी प्रधान कार्यालयले सङ्क्रमित र ज्यान गुमाउनेको तथ्याङ्क गोप्य राख्न थालेको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार ज्यान गुमाउने प्रहरीमध्ये अधिकांश ४० देखि ४५ वर्ष उमेर समूहका छन् ।
निषेधाज्ञा कार्यान्वयन गराउनका लागि सवारी चेकजाँचमा खटिएका र अपराध न्यूनीकरणको सिलसिलामा पक्राउ गर्न जाने र म्याद थप्न जाने लगायतका कार्यमा खटिएका प्रहरी बढी जोखिममा छन् । निषेधाज्ञा उल्लङ्घन गर्नेहरूलाई होल्ड गरेर कक्षा लिने तथा सडकमा निस्कनेहरूलाई घरभित्र पठाउन खटिएका प्रहरी पनि जोखिममा छन् ।
अझ नेपाल–भारत सीमानामा खटिएका प्रहरी सबैभन्दा धेरै जोखिममा रहेकाछन् । भारतबाट फर्कने क्रम रोकिएको छैन, रोकिँदैन पनि । भारतमा सङ्क्रमणको दर उच्च हुदाँ त्यहाँबाट आउनेहरू सङ्क्रमित भएर आउने सम्भावना बढ्दो छ । यस्तो अवस्थामा सीमामा रहेका सुरक्षाकर्मी उच्च जोखिममा रहेकाछन् ।
सरकारको निर्णय फिल्डमा कार्यान्वयन गर्न दिनरात खटिएका प्रहरीका अधिकृत सङ्क्रमणका कारण गुम्न थालेका छन् । यसअघि बुधबार(जेठ ५ गते) राति महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) ४३ वर्षिय राजकुमार केसीको मृत्यु भयो । वैशाख २२ मा केसीलाई कोरोना भाइरस सङ्क्रमण भएको थियो ।
उनी काठमाडौँस्थित मूलपानीका स्थानीयवासी हुन् । कोरोनाबाट ज्यान गुमाउने उनी प्रहरीका उच्च अधिकृत हुन् ।
यस्तै वैशाख ३० गते महानगरीय अपराध महाशाखामा कार्यरत प्रसनी (असई) देवीबहादुर पुरीको सङ्क्रमणका कारण ज्यान गयो । सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी घर भएका पुरी महानगरीय अपराध महाशाखा अन्तर्गत पीसीसीबी ठिमीमा कार्यरत थिए । वैशाख १८ गतेदेखि उनी महाराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना भएका थिए ।
अझ फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीलाई भत्ता दिने निर्णय भए पनि अहिलेसम्म उनीहरुले भत्ता पाएका छैनन् । स्वास्थ्य सामग्रीको अभावका बीच सडकमा खटिएका प्रहरीलाई जोखिमबाट जोगाउने दायित्व प्रहरीको नेतृत्वको काँधमा छ ।
यसैबीच, कर्तव्य पालनको दौरानमा कोरोना भाइरसबाट संक्रमित हुने प्रहरीहरुका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले अक्सिजनसहितको आइसोलेसन तयार पारेकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार ४ बेड अक्सिजनसहति १० बेड क्षमता भएको आइसोलेसन तयार पारिएको हो ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–१० गणेशमान चोकमा रहेको निःशुल्क लागू औषध परामर्श केन्द्रको भवनमा उक्त आइसोलेसन बनाइएको छ ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जको प्राबिधिक सहयोग र सहकार्यमा आईसोलेसन केन्द्र स्थापना गरिएको प्रहरी प्रमुख रानाले बताए ।
उनका अनुसार दोस्रो भेरियन्टको कोरोना संक्रमणका कारण बाँकेका ४१ जना प्रहरी कर्तब्य पालनको क्रममा संक्रमित भएकाछन् । जसमध्ये बुधबार बेलुकासम्म ३१ जनाले कोरोना जितेका छन् भने एक जना भेरी अस्पताल, २ जना व्हाईटहाउसको आईशोलेशन र ७ जना होम आइशोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेकाछन् ।