नेपालगन्ज ९ जेठ : कोभिड–१९ नियन्त्रणका लागि भेरी अस्पतालले स्वास्थ्यमन्त्री समक्ष १० बुँदे माग प्रस्तुत गरेकोछ ।
भेरी अस्पताल विकास समितिले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ समक्ष १० बुँदे माग अघि सारेको हो ।
अस्पताल निरीक्षणमा आएका मन्त्री श्रेष्ठलाई समितिका अध्यक्ष प्रमोद धिताल र सदस्य सचिव एवं अस्पतालका प्रमुख डाक्टर प्रकाश थापाले आईतबार विहान विभिन्न १० बुँदे माग राखेका हुन् ।
अस्पताल विकास समितिले राखेका मागहरु अस्पतालको मात्रै नभएर कोभिड नियन्त्रणको पक्षमा रहेको समितिका अध्यक्ष धितालले बताए । मन्त्री श्रेष्ठलाई बाँकेमा कोभिडविरुद्ध भए गरेका कामहरुबारेमा जानकारी गराइएको थियो ।
भेरीमा लिक्विड अक्सिजन ट्यांक जडान भइसकेकाले त्यसका लागि आवश्यक पर्ने लिक्विड अक्सिजनको आयातको सुनिश्चितता गर्नुपर्ने, प्रदेश सरकारबाट प्रदान गरिएको शववाहन सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति, इन्धन र मर्मत सम्भारका लागि नियमित बजेटको व्यवस्था गर्नुपर्ने, कर्मचारीलाई समयमै तलब र जोखिम भत्ता उपलब्ध गराउनु पर्ने, आइसोलेसन अस्पतालहरुमा सबै खाले जनशक्ति, अक्सिजन, स्वास्थ्य उपकरण, औषधिको व्यवस्थापन गर्नुपर्ने, सम्पूर्ण नागरिकलाई कोभिडविरुद्धको खोपको व्यवस्था गर्नुपर्ने, पर्याप्त मात्रामा कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने, लक्षण नभएका संक्रमितलाई सम्भव भएसम्म घरमा र नभए पालिकाहरुको आइसोलेसनमा राख्ने व्यवस्था गर्नुपर्ने लगायतका माग रहेका छन् ।
मन्त्री श्रेष्ठले भेरी अस्पतालद्वारा प्रस्तुत गरिएको १० बुँदे मागलाई यथाशक्य चाँडो सम्बोधन गर्ने बताए । उनले भेरीको कोभिड वार्डमा पुगेर निरीक्षण गर्नुका साथै बाँकेका प्रमुख जिल्ला अधिकारीलगायतसँग छलफल समेत गरेका थिए ।