विपन्न परिवारलाई खाद्यान्न प्रदान गर्न ‘कोभिड खाद्य बैंक’


विपन्न परिवारलाई खाद्यान्न प्रदान गर्न ‘कोभिड खाद्य बैंक’

नेपालगन्ज ११ जेठ : कोरोना भाईरसका कारण जारी निधेषज्ञामा अति विपन्न परिवारमा खाद्यन्न समस्या भएपछि बाँकेको कोहलपुरमा ‘कोभिड खाद्य बैंक’ सञ्चालनमा आएकोछ ।

‘रोगले होइन भोकले कोही मर्न नपरोस’ भन्ने उद्देश्यका साथ ‘कोभिड खाद्य बैंक’ स्थापना गरिएको हो ।

गाउँदेखि शहरसम्मका गरिब तथा अति विपन्न परिवारका लागि खाद्यन्न सहयोग गर्ने प्रमुख लक्ष्यका साथ ‘कोभिड खाद्य बैंक’को स्थापना गरिएको अभियानका संयोजक प्रदीप भट्टराईले बताए ।

कोहलपुर क्षेत्रमा सामाजिक कार्यमा सक्रिय यूवाहरुद्वारा सामाजिक सेवा भावका साथ बन्दाबन्दीको समयमा कोभिडका कारण प्रभावितहरुलाई हातमुख जोर्न सहयोग गर्ने हेतुले कोभिड खाद्य बैंक, कोहलपुर बाँकेको परिकल्पना गरिएको भट्टराईले प्रष्ट्याए । साथै उनले पवित्र सामाजिक कार्यमा सहयोग गरी सामाजिक कार्यमा जोडिन सबैमा आग्रह समेत गरे ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र बहादुर अधिकारीले उक्त बैंकको उद्घाटन गरेसंगै खाद्य बैंक सञ्चालनमा आएकोछ । सोक्रममा अधिकारीले कोरोनाबाट दिवंगत आफ्ना भाईको स्मृतीमा २२ हजार मूल्य बराबरको खाद्यान्न सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्यसैगरी कोहलुर वडा नम्बर– १० का वडाध्यक्ष निम बहादुर चलाउनेले २५ हजार, स्थानीय नेता मोहन चापागाँईले २५ हजार ५५१, स्थानीय यातायात ब्यवसायी गोकर्ण ओलीले १५ हजार, केशव खनालले १० हजार तथा अन्य ब्यक्तिहरुले समेत आर्थिक सहयोग उपलब्ध गराएको ‘कोभिड खाद्य बैंक’का अभियन्ता चेतकान्त भट्टराईले जानकारी दिए ।

खाद्य बैंकालागि सोमबारसम्म २५ क्विन्टल चामल संकलन भईसकेको बताउँदै भट्टराईले केही दिनभित्रै आवश्यक प्रक्रिया मिलाएर असहाय तथा विपन्न परिवारहरुलाई खाद्यान्न वितरण गरीने जानकारी दिए ।