कोभिडका कारण बाँकेका २५ पत्रकार संक्रमित, एकजनाको निधन

बाँके प्रेस युनियनले थाल्यो कोरोनाबाट प्रभावित पत्रकारसँग भेटघाट अभियान


कोभिडका कारण बाँकेका २५ पत्रकार संक्रमित, एकजनाको निधन

कोरोना जितेका नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष हेमन्त कर्माचार्य (बायाँ) र महासंघ लुम्बिनीका उपाध्यक्ष शुक्रऋषी चौलागाई (दायाँ)संग स्वास्थ्य अवस्था बुझ्दै युनियन बाँकेका अध्यक्ष ओली ।

नेपालगन्ज ११ जेठ : कोरोना संक्रमणबाट अहिलेसम्म बाँके जिल्लामा क्रियाशिल २५ जना पत्रकार संक्रमित भइसकेका छन् । संक्रमित मध्ये धेरै जना निको भइसकेका छन्, भने केहीले होमआइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेकाछन् ।

केहीदिन अघि मात्रै कोरोना संक्रमणबाट बाँकेमा खबर नेपालगन्ज डटकमका सम्पादक तथा प्रकाशक एवम सञ्चारकर्मी रईस साईको निधन भएको थियो ।

यसैबीच, कोरोना भाईरस(कोभिड–१९)महामारीबाट प्रभावित भएका पत्रकारसँग नेपाल प्रेस युनियन बाँकेले भेटघाट अभियान सुरु गरेको छ । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको नेतृत्वमा मंगलबारबाट भेटघाट उक्त अभियान शुरु गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना भाईरसबाट संक्रमित भएर होमआइसोलेसनमा बसिरहेका, संक्रमण पश्चात निको भई घरमा पूर्ण स्वास्थ्यलाभ गरिरहेका र संक्रमणको जोखिममा रहेका पत्रकार तथा सञ्चारकर्मीलाई उनीहरुका घर र सञ्चार संस्थामै पुगेर भेटघाट गरी स्वास्थ्य सामाग्री (मास्क र स्यानिटाइजर) प्रदान गरिएको युनियन बाँकेका अध्यक्ष ओलीले बताए ।

कोरोनाको ‘हटस्पट’ बनेको बाँकेमा फ्रन्टलाईनमा रहेर काम गर्ने पत्रकार तथा सञ्चारकर्मी अत्यन्त जोखिममा छन् । ‘बाँकेको स्थिती अझैपनि जटिल छ, परिस्थिती असहज हुँदा हुदैपनि संक्रमित हुनु भएका र संक्रमण पश्चात निको भई पूर्ण स्वास्थ्य लाभ गरिरहनु भएका तथा जोखिममा रहनु भएका सहकर्मी साथी र अग्रजहरुलाई भेटेर उहाँहरुको अवस्था बुझ्न मन लाग्यो,’ ओलीले भने ‘लामो समयको अन्तरालपछि भएको भेटघाटका क्रममा केही गफगाफ गर्न पाइयो, खाली हात भेट्नुभन्दा थोरै भएपनि स्वास्थ्य सामाग्री प्रदान गरियो, यो अभियान जारी नै रहनेछ ।’

भेटघाटका क्रममा अध्यक्ष ओलीले सबैको पूर्णस्वास्थ्य लाभको कामना गरेको र कुनै समस्या परेमा सम्झिन विशेष आग्रह गरेको युनियन बाँकेका सचिव विजय मल्लले बताए । ‘पत्रकारको घर र काम गर्ने सञ्चार संस्थामा पुगेपछि धेरैजना खुसी हुनु भयो, उहाँहरुले धन्यवाद पनि दिनुभयो,’ उनले भने । भेटघाटका क्रममा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रुपले पालना गरिएको मल्लले बताए ।

युनियनले पत्रकार तथा सञ्चारकर्मीलाई भेटघाट गर्ने कार्यलाई निरन्तरता दिने उनले सुनाए । युनियनले केहीदिन अघि मात्र पत्रकारलाई मास्क र स्यानिटाइजर वितरण गरेको थियो ।

यसैक्रममा प्रेस युनियन बाँकेले कोरोना संक्रमणको अवस्था यथावत नै रहेकाले अझैपनि सुरक्षित भएर आफ्नो पेशागत दायित्व निभाउन पत्रकार तथा सञ्चारकर्मीलाई अपील गरेको छ । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले मंगलबार एक अपीलमार्फत यस्तो आग्रह गरेका हुन् ।

‘दोस्रो चरणमा नयाँ भेरियन्टको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को महामारी अझै नियन्त्रणमा आएको छैन, कोरोना महामारीको ‘हटस्पट’ बनेको बाँके जिल्लामा पहिलेको तुलनामा संक्रमण दर केही घट्दो अवस्था भएपनि दैनिकजसो अस्पतालहरुमा संक्रमितको मृत्यु भने भइरहेको छ, अस्पतालमा संक्रमितको चाप थोरै मात्र घटेको हो,’ अपीलमा भनिएको छ, ‘महामारी नियन्त्रण गर्नकै लागि बाँके प्रशासनले निशेधाज्ञाको समय थपिरहेको छ, यस्तो जटिल र कठिन परिस्थितीमा पनि आफु सुरक्षित भएर बाँकेका पत्रकार तथा सञ्चारकर्मीहरुले आफ्नो पेशागत दायित्व निभाईरहेको कुरा अविस्मरणीय छ, तसर्थ कोरोना संक्रमणको अवस्था यथावत नै रहेकाले अझैपनि सुरक्षित भएर आफ्नो पेशागत दायित्व निभाउनु हुन प्रेस युनियन बाँके शाखा पत्रकार तथा सञ्चारकर्मीमा पुनः हार्दिक अपील गर्दछ ।’

‘कोरोना संक्रमणबाट ज्यान गुमाउनु हुने सञ्चारकर्मी साईप्रति पुनः हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु, साथै संक्रमित हुनु भएका र निको हुनु भएका सबै पत्रकार तथा सञ्चारकर्मीको पुर्ण स्वास्थ्यलाभको कामना गर्दछु,’ अध्यक्ष ओलीले भनेका छन् ।

कोरोना भाईरस महामारीका कारण पत्रकार तथा सञ्चारकर्मी साथीहरू कतै अप्ठ्यारोमा परेको भए, स्वास्थ्य सम्बन्धी परामर्शका साथै कुनै समस्या वा जटिलता भएको छ, भने सहजताको लागि नेपाल प्रेस युनियन बाँके समन्वयकारी भुमिका खेल्न तयार रहेको उनले पुनः स्मरण गराएका छन् ।

अपीलमा भनिएको छ, ‘यसका लागि जुनसुकै बेला पनि मलाई फोन सम्पर्क गर्न सक्नु हुनेछ ।’ बाँकेका पत्रकार तथा सञ्चारकर्मीका लागि कोरोना संक्रमणको निःशुल्क औषधी उपचारका साथै सहज र निःशुल्क रूपमा कोरोनाको पीसिआर परिक्षणको ब्यवस्था मिलाउन सरकारसँग युनियन बाँकेले जोडदार माग पनि गरेको छ ।