कोरोना कहरकाबीच २५६५ औं बुद्धजयन्ती मनाइँदै


कोरोना कहरकाबीच २५६५ औं बुद्धजयन्ती मनाइँदै

File Photo

नेपालगन्ज १२ जेठ : आज विश्वभर २५६५औं बुद्ध जयन्ती मनाइदै छ । हरेक वर्ष वैशाख पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती यसवर्ष भने कोरोना भाइरस महामारीका कारण कुनैपनि विशेष कार्यक्रम गरिएको छैन ।

भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत वैशाख पूर्णिमाकै दिन भएकोले बौद्धमार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा मान्ने गर्छन् ।

यसदिन बुद्धको जन्मस्थान लुम्बिनी लगायत सबै बौद्ध स्तुपाहरूमा विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्थ्यो । तर, कोरोनाका कारण यसवर्ष लुम्बिनीमा समेत दीप प्रज्वलनबाहेकका अन्य विशेष कार्यक्रमहरू नहुने भएको छ ।

यस वर्ष लुम्बिनीमा २५६५ वटा दीप प्रज्ज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा मनाइने लुम्बिनी विकास कोषले जनाएको छ । सधैं भव्य समारोहका बीच सम्पन्न हुने गरेको बुद्धजयन्ती गत वर्ष पनि बन्दाबन्दीको कारण पूजापाठमा सीमित भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना महामारीका कारण स्वदेश र विदेशबाट राष्ट्रप्रमुख, भिक्षु भिक्षुणी, कूटनीतिज्ञ र बौद्ध धर्मावलम्बीहरु सहभागी हुन नसक्ने भएकाले पूजापाठ र दीप प्रज्ज्वलन गरेर सामान्य रुपमा बुद्धजयन्ती मनाइने कोषले जनाएको छ ।

यसैबीच, २५६५ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा भौतिक दूरी कायम गरी प्रार्थना गरिएको छ । हरेक वर्ष बुद्धजयन्तीका दिन बिहानैदेखि सयौं आगन्तुकहरुको चहलपहल हुने लुम्बिनीमा यसवर्ष भने आन्तरिक र वाह्य पर्यटक, भिक्षु–भिक्षुणी, बौद्धमार्गीहरुको भिड लागेन ।

लुम्बिनी विकास कोषले औपचारिक कार्यक्रम नै आयोजना गरेर स्वदेश तथा विदेशका राष्ट्र प्रमुखलाई निम्त्याउने गरेकोमा कोरोना महामारीका कारण स्थानीयवासी र बौद्ध भिक्षुभिक्षुणीहरुले भौतिक दूरी कायम गरेर प्रार्थना गरेर बुद्ध जयन्ती मनाएका छन् ।