नेपालगन्ज १२ जेठ : नेपालमा कोरोना संक्रमितभन्दा संक्रमण मुक्त हुनेको संख्या बढ्न थालेकोछ । लगातार कोरोना संक्रमण बढिरहेका बेला बुधबार नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी पाइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७१४ नयाँ संक्रमित थपिँदा ६ हजार ७१६ जनाले कोरोना जितेकाछन् । यो तथ्यांकलाई हेर्दा बुधबार संक्रमित थपिनेभन्दा संक्रमणमुक्त हुने बढेकाछन् ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ३० जनाको पीसीआर टेष्ट गर्दा ६ हजार ६७७ जना र ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जना गरि ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभरमा सक्रिय संक्रमितको संख्या एक लाख १७ हजार ७७ पुगेको छ । भने हालसम्म ५ लाख ३५ हजार ५६४ जना निको भइसकेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १४५ जनाको मृत्यु भएको मन्त्रालयले बताएकोछ । योसंगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ पुगेको छ । देशभर ८५२ जना क्वारेन्टाइनमा रहेका छन् ।
यसैगरि देशभर हाल २ हजार १ सय ५ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन् । जसमा एक हजार ६ सय ७१ आइसीयू र ४३४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।