File Photo
नेपालगन्ज १२ जेठ : चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएकोछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहपछि चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भएको हो ।
चिनियाँ राष्ट्रपति सी चिनजिङले बुधबार दिउँसो यस्तो घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन् ।
नेपालका लागि चिनियाँ राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षीबीचको टेलिफोन संवादपछि चीनले १० लाख डोज खोप उलब्ध गराउन लागेको बताईन् । दुई राष्ट्रपतिबीच आज ४० मिनेट वार्ता भएको थियो । चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो ।
दुई देशका राष्ट्रपतिबीच कुराकानी गराउन दुबै देशका परराष्ट्र मन्त्रालयले केही दिनदेखि तयारी थालेका थिए ।
भारतले यसअघि १० लाख खोप अनुदान दिएको थियो । त्यसपछि नेपालले २० लाख खोप किन्नका लागि नेपाल सरकारले गत मार्चमा रकम तिरिसकेको छ । त्योमध्ये १० लाख खोप आएको छ भने बाँकी १० लाख आएको छैन ।