रकम तिर्दा पनि भारतले खोप पठाएन, चीनले १० लाख डोज खोप अनुदानमा दिने


रकम तिर्दा पनि भारतले खोप पठाएन, चीनले १० लाख डोज खोप अनुदानमा दिने

File Photo

नेपालगन्ज १२ जेठ : चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएकोछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहपछि चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भएको हो ।

चिनियाँ राष्ट्रपति सी चिनजिङले बुधबार दिउँसो यस्तो घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन् ।

नेपालका लागि चिनियाँ राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षीबीचको टेलिफोन संवादपछि चीनले १० लाख डोज खोप उलब्ध गराउन लागेको बताईन् । दुई राष्ट्रपतिबीच आज ४० मिनेट वार्ता भएको थियो । चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो ।

दुई देशका राष्ट्रपतिबीच कुराकानी गराउन दुबै देशका परराष्ट्र मन्त्रालयले केही दिनदेखि तयारी थालेका थिए ।

भारतले यसअघि १० लाख खोप अनुदान दिएको थियो । त्यसपछि नेपालले २० लाख खोप किन्नका लागि नेपाल सरकारले गत मार्चमा रकम तिरिसकेको छ । त्योमध्ये १० लाख खोप आएको छ भने बाँकी १० लाख आएको छैन ।