नेपालगन्ज १३ जेठ : जिल्ला स्वास्थ्य कार्यालय बाँकेले कोरोना भाइरस विरुद्धको खोप लगाइरहेकोछ ।
स्वास्थ्य कार्यालयलले जेठ १३ र १४ गते पहिलो डोज भ्याक्सिन लगाइसकेका र जोखिम क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, निजामती कर्मचारी, बैंक, प्राधिकरण, न्याय तथा पत्रकार लगायतलाई दोस्रो खोप लगाउन लागिएको हो ।
स्वास्थ्य कार्यालयका जनक गिरीका अनुसार, २०७७ फागुन २२ गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज खोप प्रदान गरिदैँछ ।
२०७७ फागुन २२ गतेसम्म दुई सय ९० जना प्रहरी र ६० जना सेना गरि ३५० जनालाई दोस्रो डोज लगाइ सकेको छ । स्वास्थ्य कार्यालयका कर्मचारीले जिल्ला प्रहरी कार्यालय र राँझास्थित आर्मी ब्यारेकमा गएर खोप लगाइदिएका थिए ।
गिरीका अनुसार २०७७ फागुन २२ गतेसम्म बाँकेमा ९ हजार ८ सय ३३ जनाले पहिलो डोज खोप लगाएका थिए । त्यसमध्येमा १ हजार ९०२ जना दोस्रो डोज लगाउन छुटेका थिए । त्यही छुटेकालाई दोस्रो डोज खोप लगाइदैछ ।
स्वास्थ्य कार्यालयले जेठ १३ र १४ गते विपी चोकदेखि पश्चिमतर्फ रहेको नेपालगन्ज हेल्थ पोष्टमा दोस्रो डोजको खोप लगाउन थालेको हो ।
नेपालमै सबै भन्दा बढी कोरोना महामारीसँग जुझिरहेको बाँके जिल्लामा कोरोना भाइरस संक्रमणका कारण मान्छे मरिरहँदा बाँकेका जनस्वास्थ्य प्रमुख धिरजंग शाहले कोरोनाविरुद्ध कोभिड भ्याक्सिन लगाउन छाडेर दराजमा लुकाएर राखेका थिए ।
स्वास्थ्य प्रमुख शाहले २३३८ डोज भ्याक्सिन कार्यालयको दराजमा लुकाएर राखेको समाचार केही दिनअघि सेतोखरीले सार्वजनिक गरेको थियो । समाचार सार्वजनिक भएपछि चौतर्फीरुपमा विरोध खेपेका शाहले अन्ततः सोही भ्याक्सिन यतिबेला लगाइदैछ ।