नेपालगन्ज १४ जेठ : भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । बिहीबाराति उपचारका क्रममा कोरोना संक्रमित आफन्तले ज्यान गएपछि स्वास्थ्यकर्मीमाथि आफन्तले आक्रमण गरेका थिए ।
पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावत छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओम रानाका अनुसार पक्राउ पर्नेमा मानबहादुर मृतकका भाइ र अन्य दुईजना मृतककै छोरा हुन् ।
५३ वर्षीय आफन्तको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको यतिबेला चौतर्फी आलोचना भइरहेको छ । उनको निधनसँगै मृतकका आफन्तले चिकित्सक तथा नर्सहरुमाथि सांघातिक हमला गरेका थिए ।
एसपी रानाले घटनाको अनुसन्धान भइरहेको र त्यसपछि के मुद्दा चलाउने भन्नेबारे टुङ्गो लाग्ने बताए ।
कोभिड कक्षमा तोडफोड गर्दै ज्यान मार्ने शैलीमा आक्रमण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित ४ जनाले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए ।
शुक्रबार बिहानै दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सक एवं कर्मचारीहरूले भेरी अस्पतालमा आन्दोलन गरेका छन् । उनीहरूले सुरक्षाको प्रत्याभूति नभएसम्म र दोषीलाई कारबाही नभएसम्म नयाँ बिरामी भर्ना लिन नदिने अडान लिएर आन्दोलन गरिरहेका छन् ।