नेपालगन्ज १४ जेठ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको आक्रमणको निन्दा गरेका छन् ।
उनीहरुले भेरी अस्पतालको घटनाबारे सामाजिक सन्जालमा धारणा सार्वजनिक गर्दै आक्रमणमा संलग्नलाई कानूनी कारवाहीको माग गरेका छन् ।
काँग्रेस सभापति देउवाले शुक्रबार बिहान ट्वीट गर्दै भनेका छन्, ‘नेपालगन्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो । यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन् । स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु ।’
यसैगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘नेपालगन्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ । हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ ।’
भेरी अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएका एक बिरामीका आफन्तले बिहीबार राती ड्युटीमा खटिएका चिकित्सक र नर्सहरुलाई लखेटी लखेटी आक्रमण गरेका थिए ।
बिरामीका आफन्तले सांघातिक आक्रमण गरेपछि चिकित्सक र नर्सहरु आफ्नो ज्यान बचाउन अस्पताल एकतलाबाट हाम फालेर ज्यान बचाएका थिए ।
चिकित्सक र नर्समाथि भएको आक्रमणको विरोधमा अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारीहरुले आन्दोलनमा उत्रिएका छन् । आक्रमणमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले तीन जनालाई पक्राउ गरेको छ ।