नेपालगन्ज १४ जेठ : भेरी अस्पतालका चिकित्सक र नर्समाथि सांघातिक आक्रमण गरिएको घटनाको छानविन गर्न बनेको समितिमाथि नै स्वास्थ्यकर्मीको शंका छ । आक्रमणमा संलग्न रहेका मानबहादुर रावत सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएपनि अन्य केही फरार रहेको बताइएको छ ।
डिउटीमा रहेकालाई हातपात भएपछि राती नै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु अस्पतालमा पुगेका थिए । लगत्तै हातपात गर्ने तीन जनालाई समातेर जिप्रका लगिएको थियो ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् । तर, राजनीति शक्तिका कारण दोषीले उन्मुक्ति पाउने भन्दै यतिबेला समितिमाथि नै स्वास्थ्यकर्मीले शकां ब्यक्त गरेका छन् ।
आक्रमणमा संलग्न मानबहादुर नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । उनले उपचारका क्रममा यसअघि पनि मानबहादुरले आफुहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको मान्छे हुँ भन्दै धम्की दिने गरेको स्टाफ नर्सहरु बताउँछन् ।
डिउटीमा रहेका डाक्टर चन्द्रप्रकाश साहु र आश्विनी गुरुङले बिरामीको मृत्यु भएपछि आफन्तहरुले आफूहरु पाँच जनालाई लखेटीलखेटी हातपात गरेको बताए ।
‘बिरामीको अवस्था केही दिनदेखि नै गम्भीर थियो । एक दिनअघि उनीहरुले नै भेन्टिलेटरमा राखिदिनु प¥यो भनेका थिए । त्यो दिन खाली थिएन । हिजो भेन्टिलेटर खाली भएपछि हामीले भेन्टिलेटरमा राखिदियौँ । त्यसको केहीबेरमा बिरामीको मृत्यु भयो’, डाक्टर साहुले भने, ‘त्यसपछि नर्सलाई घाटी अठ्याइयो । हामीलाई लखेटी लेखटी हातपात गरियो ।’
उनका अनुसार, डाक्टर र नर्सहरु भागेर एउटा कोठामा पुगे । त्यहाँको पनि ढोका फोडिएपछि शौचालयमा लुके । त्यसपछि झ्यालबाट हाम फालेर तल भागे । डाक्टर साहु, नर्सहरु आश्विनी, सदिक्षा गैरे, रिता अधिकारी र कविता पुन डिउटीमा रहेका थिए । यी पाँचै जना झ्यालबाट हाम फालेर भागेका थिए ।
आफुहरुको हत्या नै गर्ने प्रयास भएको र उक्त घटनाले काम गर्ने वातावरण नै नभएको पीडित स्वास्थ्यकर्मीले बताइरहेका छन् ।
पीडित स्वास्थ्यकर्मीले सरकारद्वारा हालै जारी गरिएको ऐन अनुसार दोषीलाई कारबाही गर्नुपर्ने माग गरिरहेको जिल्ला प्रहरी कार्याल बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले बताए ।
हालै जारी गरिएको ऐनमा जेल ‘विद आउथ विल’ अर्थात गैर जमानती हिरासतको नियम छ । यतिबेला भेरीमा भएको घटनाको चौतर्फी भत्सना र निन्दा भइरहेकोछ ।
यता नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसीले दोषीलाई कानूनी कारबाही हुने ग्यारेन्टी र अबदेखी यस्ता घटना नदोहोरिने वातावरण नबन्दासम्म ढुक्क भएर काम गर्न गाह्रो हुने बताईन् ।
‘हामीले उपचारको काम रोकेका छैनौं, तर अहिले चाही सबै जना एक ठाउँमा जम्मा भएका छौं, दोषीलाई कारबाही नभए काममै नफर्किने अवस्था आउन सक्छ ।’
भेरी अस्पतालको कोभिड वार्डमा भएको यो घटना पहिलो भने होईन । यसअघि गत वैैशाख अन्तिम सातातिर पनि स्वास्थ्यकर्मीमाथी हातपात भएको थियो ।