नेपालगन्ज १४ जेठ : भेरी अस्पतालका चिकित्सक र नर्समाथि सांघातिक आक्रमण गर्ने विरुद्ध ज्यान मार्ने मुद्दा दर्ता गरिएकोछ । भेरी अस्पतालको कोभिड वार्डमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ती ब्यक्तिविरुद्ध किटानी जाहेरी दर्ता भएपछि ज्यान मार्ने मुद्दा चलाइएको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– ११ का कोरोना संक्रमित ५२ डिल्ली रावतको उपचारका क्रममा बिहीबार राती मृत्यु भएपछि आक्रोशित भएका आफन्तले भेरी अस्पतालका चिकित्सक र स्टाफ नर्स लगायतलाई लखेटीलखेटी आक्रमण गरेका थिए ।
घटना घटे लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संलग्न मानबहादुर रावत, लोकराज रावत र भरत रावतलाई नियन्त्रणमा लिइ हिरासतमा राखेकोछ ।
राजनीतिक पावरमा आफूहरुको हत्या गर्ने उद्देश्यले नै आक्रमण गरेको भन्दै पीडित र स्वास्थ्यकर्मीहरुले शुक्रबार बिहानैदेखि दोषीलाई कारबाहीको माग गर्दै प्रर्दशन गरेका थिए । भेरी अस्पताल परिसरमा प्रर्दशन गरेका स्वास्थ्यकर्मीहरुले आफ्ना माग सुनुवाई नभएको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराएका हुन् । त्यसलगत्तै ठूलो संख्यामा रहेका स्वास्थ्यकर्मीको टोली जिल्ला प्रशासन कार्यालयमा पुगी सर्वपक्षिय छलफल गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार आक्रमणमा संलग्न मानबहादुर रावत, लोकराज रावत र भरत रावतविरुद्ध भेरी अस्पतालका ७ जना स्वास्थ्यकर्मीले किटानी जाहेरी दर्ता गराएको बताए । ‘अहिलेलाई ३ जनाविरुद्ध जाहेरी दिनु भएको छ,’ उनले भने ।
आक्रमणमा संलग्न ब्यक्तिलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउन स्वास्थ्यकर्मीले माग गरेका छन् ।
रावतको मृत्यु भएपछि राती करिव ८ बजेतिर मृतकका भाई मानबहादुरसहितको एक समूहले चिकित्सक, स्टाफ नर्स लगायतलाई लखेटीलखेटी आक्रमण गरेको थियो ।
आफन्तको मृत्यु लगत्तै चारैतिरबाट जम्मा भएर लखेट्दै घाँटी थिचिदिएका थिए । स्टाफ नर्स र चिकित्सक आफ्नो ज्यान जोगाउन ड्युटी रुम र शौचालयमा पस्दा पनि ढोका फोडेर आक्रमण गरेका थिए ।
त्यसपछि ४ जना स्टाफ नर्स र एक जना चिकित्सकले कोभिड वार्डको पहिलो तलामाथिबाट हामफालेका थिए ।
आक्रमणबाट डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर दीपक गुप्ता, डाक्टर समा अन्सारी, स्टाफ नर्स अस्मिनी गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठलाई चोट लागेको अस्पताल प्रशासनले जनाएको छ । डाक्टर चन्द्रप्रकाश साहु, नर्सहरु सदीक्षा गैरे, अस्विनी गुरुङ्ग, रिता भण्डारी, भावना श्रेष्ठ र अस्पतालका अब्दूल ज्यान बचाउन एकतला माथिबाट हाम फालेका थिए ।
आक्रमणमा संलग्न मानबहादुर नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । संक्रमित रावत यही जेठ ४ गतेदेखी भेरी अस्पतालमा भर्ना भएका थिए ।
दाईको उपचारका क्रममा यसअघि पनि मानबहादुरले आफूहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको मान्छे हुँ भन्दै धम्की दिने गरेको स्टाफ नर्सहरु बताउँछन् ।
नेपाल नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसीले आक्रमण गर्नेविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बताईन् ।
यतिबेला भेरी अस्पतालमा भएको घटनालाई लिएर सर्वत्र निन्दा गरिएकोछ । कोरोना महामारीमा आफ्नो स्वास्थ्यलाई समेत जोखिममा राखि संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरिएकोछ ।