नेपालगन्ज १६ जेठ : भेरी अस्पताल नेपालगन्जका चिकित्सक तथा नर्समाथि भएको सांघातिक आक्रमणबारे छानविन गर्न गठित समितिले आज (आईतबार ) आफ्नो प्रतिवेदन पेश गर्ने भएको छ ।
बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत् डाक्टर र नर्सहरूमाथि कुटपिट गरेका थिए ।
घटना छानविन गर्न भन्दै सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा सात सदस्यीय छानविन समिति गठन भएको थियो । उक्त समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो ।आज उक्त अवधि सकिदैँछ ।
यो अवधिमा आफूहरूले सबै सरोकारवालाहरूसँग छलफल गरिसकेको र प्रतिवेदन तयारी पारिसकेको हुँदा आईतबार नै प्रतिवेदन बुझाउने तयारी रहेको समितिका भेरी अस्पताल विकास समितिका सदस्य एबम छानविन समितिका सदस्य कृष्णप्रशाद श्रेष्ठले सेतोखरीलाई बताए ।
‘हामीले अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट, घटनाका प्रत्यक्षदर्शी, पीडित डाक्टर नर्स र आक्रमणमा संलग्न व्यक्तिहरूलाई समेत सोधपुछ गरि सकेका छौं,’ श्रेष्ठले भने, ‘प्रतिवेदन तयार छ, त्यो जसरी पनि आजै बुझाउने तयारी गरिएकोछ ।’
सदस्य श्रेष्ठले भने–‘प्रतिबेदनको ड्राफ्ट तयार भएर त्यसलाई फाइनल टच दिन बाँकीछ । हामीसंग प्राप्त भिडियो रेर्कड, लिखित कागजात र घटनासंग सम्बन्धित आधारहरुछन् । त्यही आधारमा प्रतिबेदन बेलुकासम्म पेश गरिनेछ ।’
बिहीबार भएको घटना लगत्तै शुक्रबार नै छानविन समितिले अस्पतालबाट सिसिटिभी फुटेज निकालेर प्रहरी प्रशासनलाई बुझाइसकेको थियो ।
डाक्टर तथा नर्समाथि आक्रमण र अस्पतालमा तोडफोड गरेको अभियोग खेपेका मानबहादुर रावत, लोकराज र भरत रावतलाई प्रहरीले सोही दिन राति नै पक्राउ गरि हिरासतमा राखेकोछ ।
घटनाको दोस्रो दिन शुक्रबार विहानैदेखि भेरी अस्पतालका चिकित्सक र नर्स लगायतले दोषीलाई कारबाही गरिनुपर्ने माग राख्दै अस्पताल प्राङ्गणमा प्रर्दशन गरेका थिए । सोही दिन उनीहरुले जिल्ला प्रहरी कार्यालय जाहेरी दर्ता गरि जिल्ला प्रशासन कार्यालय बाँकेमा सर्वपक्षिय वार्ता समेत गरेको थियो ।
यता बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पीडित चिकित्सक, नर्स र अस्पताल विकास समितिको जाहेरीका आधारमा उनीहरूकाविरूद्ध शुक्रबार नै ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।
बाँके प्रहरीले भेरी अस्पतालको सुरक्षालाई लिएर शनिबार नै एसईको नेतृत्वमा २५ जना प्रहरीलाई खटाएकोछ ।