भेरी अस्पताल घटना : तीन दिन वित्यो, प्रतिबेदन सार्वजनिक भएन

घटनाको सत्यता लुकाइनेमा स्वास्थ्यकर्मीद्वारा शंका ब्यक्त


भेरी अस्पताल घटना : तीन दिन वित्यो, प्रतिबेदन सार्वजनिक भएन

File Photo

नेपालगन्ज १७ जेठ : भेरी अस्पताल नेपालगन्जका चिकित्सक तथा नर्समाथि भएको सांघातिक आक्रमणबारे छानविन गर्न गठित समितिले उक्त घटनाको प्रतिबेदन सार्वजनिक गर्न सकेको छैन ।

घटना लगत्तै छानविन गर्न भन्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा सात सदस्यीय छानविन समिति गठन भएको थियो । उक्त समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो । तर, तीन दिन वितिसक्दा पनि प्रतिबेदन सार्वजनिक भएन ।

प्रतिबेदन बनाउन गठित समितिले नै निर्धारित समयवधिभित्र प्रतिबेदन सार्वजनिक नगरेपछि यतिबेला घटनाको वास्तविकता लुकाइने भन्दै चिकित्सक तथा स्टाफ नर्सहरुले शंका ब्यक्त गर्न थालेकाछन् ।

उक्त समितिको हिजो आईतबार समयवधि सकिएकोछ । हिजो (आईतबार) समितिले आफ्नो प्रतिवेदन पेश गर्ने बताइएपनि भेरी अस्पताल नेपालगन्जमा भएको घटनाको प्रतिबेदन सार्वजनिक गर्न समितिका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी विष्टको नेतृत्व टिममाथि चौतर्फी प्रश्न तेस्रिएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट गरेका थिए । घटना छानविन गर्न भन्दै सहायक प्रमुख जिल्ला अधिकारी विष्टको नेतृत्वमा सात सदस्यीय छानविन समिति गठन भएको थियो ।

उक्त समितिले यो अवधिमा आफूहरूले सबै सरोकारवालाहरूसँग छलफल गरिसकेको र प्रतिवेदन तयार पारिसकेको बताउदै आईतबार नै प्रतिवेदन बुझाउने तयारी रहेको थियो ।

भेरी अस्पताल विकास समितिका सदस्य एबम छानविन समितिका सदस्य समेत रहेका कृष्णप्रशाद श्रेष्ठले प्रतिबेदनको ड्राफ्ट तयार भएर त्यसलाई फाइनल टच दिन बाँकी रहेको बताउँदै आईतबार नै जसरी पनि पेश गर्ने बताएका थिए ।

आईतबार समितिका सदस्य श्रेष्ठले सेतोखरीसंग कुरा गर्दै भने ‘हामीले अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट, घटनाका प्रत्यक्षदर्शी, पीडित डाक्टर नर्स र आक्रमणमा संलग्न व्यक्तिहरूलाई समेत सोधपुछ गरिसकेका छौं,’ श्रेष्ठले भने, ‘प्रतिवेदन तयार छ, त्यो जसरी पनि आजै (आईताबर) बुझाउने तयारी गरिएकोछ ।’ उनले भने ‘हामीसंग प्राप्त भिडियो रेर्कड, लिखित कागजात र घटनासंग सम्बन्धित आधारहरुछन् । त्यही आधारमा प्रतिबेदन बेलुकासम्म पेश गरिनेछ ।’

घटना घटेको ४ दिन वितिसक्दा पनि समितिले प्रतिबेदन सार्वजनिक गर्न सकेको छैन । यसले भेरी अस्पतालको घटनाको बास्तविकता झन् साँघुरिदैँ गएको चिकित्सक बताउँछन् ।

बिहीबार भएको घटना लगत्तै शुक्रबार नै छानविन समितिले अस्पतालबाट सिसिटिभी फुटेज निकालेर प्रहरी प्रशासनलाई बुझाइसकेको थियो । डाक्टर तथा नर्समाथि आक्रमण र अस्पतालमा तोडफोड गरेको अभियोग खेपेका मानबहादुर रावत, लोकराज र भरत रावतलाई प्रहरीले सोही दिन राति नै पक्राउ गरि हिरासतमा राखेकोछ ।

घटनाको दोस्रो दिन शुक्रबार विहानैदेखि भेरी अस्पतालका चिकित्सक र नर्स लगायतले दोषीलाई कारबाही गरिनुपर्ने माग राख्दै अस्पताल प्राङ्गणमा प्रर्दशन गरेका थिए ।
सोही दिन उनीहरुले जिल्ला प्रहरी कार्यालय जाहेरी दर्ता गरि जिल्ला प्रशासन कार्यालय बाँकेमा सर्वपक्षिय वार्ता समेत गरेको थियो ।

बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पीडित चिकित्सक, नर्स र अस्पताल विकास समितिको जाहेरीका आधारमा उनीहरूकाविरूद्ध शुक्रबार नै ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको जानकारी दिएका छन् । बाँके प्रहरीले भेरी अस्पतालको सुरक्षालाई लिएर शनिबार नै एसईको नेतृत्वमा २५ जना प्रहरीलाई खटाएकोछ ।

यता नेपाल नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसीले घटना घटेको ४ दिनसम्म पनि घटना छानविनका लागि गठित समितिले आफ्नो प्रतिबेदन पेश गर्न नसक्नुले समितिमाथि नै शंका उत्पन्न भएको बताइन् ।

उनले अस्पतालजस्तो संवेदनशिल क्षेत्रमा चिकित्सक र स्टाफ नर्स लगायतमाथि भएको सांघातिक आक्रमण पुनः दोहोरिन नदिन दोषिलाई हदैसम्मको कडा कारबाही गरिनुपर्ने माग राखिन् ।

सेतोखरीसंग कुरा गर्दै संघकी अध्यक्ष लक्ष्मीले भनिन्–‘भेरी अस्पतालमा भएको घटनाका दोषिलाई कारबाहीका लागि हामीले लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला आयोग र राष्ट्रपति समक्ष ध्यानाकर्षण पेश गरिसकेकाछौं ।’

यस्तै उक्त घटनामा पीडित एकजनाले सेतोखरीसंग कुरा गर्दै भनिन्–‘हामीलाई न्याय चाहिएकोछ । घटना सम्बन्धि सम्पूर्ण विवरण र प्रमाणहरु पाउँदासमेत छानविन समितिले प्रतिबेदन सार्वजनिक गर्नुका साटो यसको सत्यता र बास्तविकता लुकाउनतर्फ लागेको छ ।’