भेरी अस्पतालका चिकित्सक र स्टाफ नर्समाथि आक्रमण भएको समितिको ठहर

कारबाहीका लागि मुद्दा चलाउन सुझाव


भेरी अस्पतालका चिकित्सक र स्टाफ नर्समाथि आक्रमण भएको समितिको ठहर

नेपालगन्ज १८ जेठ : भेरी अस्पताल नेपालगन्जका चिकित्सक र स्टाफ नर्समाथि सांघातिक आक्रमण भएको छानविन समितिले ठहर गरेकोछ ।

भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि भएको सांघातिक आक्रमणबारे छानविन गर्न गठित समितिले उक्त घटनाको प्रतिबेदन बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाउँदै यस्तो ठहर गरेको हो ।

घटना लगत्तै छानविन गर्न भन्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा सात सदस्यीय छानविन समिति गठन भएको थियो । उक्त समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो । तर, तीन दिन वितिसक्दा पनि प्रतिबेदन सार्वजनिक गर्न केही प्राविधिक र छानविनको प्रकृया नसकिएपछि समितिले एक दिनको समयअवधि थप गरेको थियो । समितिले सोमबार साँझ ५ बजे बाँकेका प्रमुख जिल्ला अधिकारी गेलाललाई प्रतिवेदन बुझाएको हो ।

प्रजिअ गेलालले प्रतिवेदन प्राप्त भएको र त्यसको अध्ययन गरेर आवश्यक कदम चाल्ने बताए । उनले प्रतिबेदनमा आएका बिषयलाई कानून बमोजिम कार्यान्वयन हुने बताउँदै छिट्टै कानूनी प्रक्रिया सुरु गरिने बताए ।

Kids Festival 2022
kanti aarogya hospital

भेरी अस्पताल घटनाका लागि तयार भएको प्रतिबेदन ३० पानाको रहेकोछ । समितिका एक सदस्यले सेतोखरीसंग कुरा गर्दै भेरी अस्पतालको घटनामा संलग्न एमाले नेता मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई दोषी ठहराउँदै कारबाहीका लागि सुझाव समेत दिएकोछ । समितिले दोषीलाई फौजदारी मुद्दामा कारबाही गर्नुपर्ने सुझाव दिएकोछ ।

यसरी समितिले दोषी ठहराएका मध्ये मृतक डिल्लीबहादुर रावतका २ जना भाई र जना छोरा रहेकाछन् । उनीहरुले भेरी अस्पतालका एकजना नर्सिङ स्टाफको घाँटी थिचेर आक्रमण गर्नुका साथै चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई पनि कुटपिट गरेको समितिको ठहर छ ।

आइसीयूमा खटिएका नर्सको घाँटी थिच्न आएपछि नर्स र डाक्टरले ट्वाइलेको झ्यालबाट हाम फालेर आफ्नो ज्यान जोगाएका थिए ।

गत हप्ता बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट गरेका थिए ।

घटना छानविन गर्न भन्दै सहायक प्रमुख जिल्ला अधिकारी विष्टको नेतृत्वमा सात सदस्यीय छानविन समिति गठन भएको थियो । यसअघि उक्त समितिले सबै सरोकारवालाहरूसँग छलफल गरि प्रतिवेदन तयार पारि आईतबार नै प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर, केही प्रकृयागत कार्य बाँकी भएपछि समितिले एक दिनको समयवधि थप गरि ५ दिनमा प्रतिबेदन पेश गरेको हो ।

‘हामीले अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट, घटनाका प्रत्यक्षदर्शी, पीडित डाक्टर नर्स र आक्रमणमा संलग्न व्यक्तिहरूलाई समेत सोधपुछ ग¥यौं,’ भेरी अस्पताल विकास समितिका सदस्य एबम छानविन समितिका सदस्य समेत रहेका कृष्णप्रशाद श्रेष्ठले भने ‘हामीसंग प्राप्त भिडियो रेर्कड, लिखित कागजात र घटनासंग सम्बन्धित आधारहरुमा रही निष्पक्षरुपमा प्रतिबेदन तयार पारेका हौं ।’

उनले भने, ‘हामीले सम्बन्धित सबै पक्षसँग कुराकानी गरेका छौँ । अस्पतालमा रहेको सीसी क्यामेराका फुटेज, अस्पतालका विभिन्न विभागका व्यक्तिहरु, घटनाका प्रत्यक्षदर्शी, पीडित डाक्टर, नर्स र आक्रमणमा संलग्न व्यक्तिहरूलाई समेत सोधपुछ गरी प्रतिवेदन तयार गरी बुझाएका छौँ ।

उनले दोषिलाई कुनै पनि हालतमा कारबाही हुने बताउँदै उक्त प्रतिवेदन प्रमुख जिल्ला अधिकारीले अध्ययन गरेपछि अदालतमा जाने बताए ।

बिहीबार भएको घटना लगत्तै शुक्रबार नै छानविन समितिले अस्पतालबाट सिसिटिभी फुटेज निकालेर प्रहरी प्रशासनलाई बुझाइएको थियो । डाक्टर तथा नर्समाथि आक्रमण र अस्पतालमा तोडफोड गरेको अभियोग खेपेका मानबहादुर रावत, लोकराज र भरत रावतलाई प्रहरीले सोही दिन राति नै पक्राउ गरि हिरासतमा राखेकोछ । घटनाको दोस्रो दिन शुक्रबार विहानै भेरी अस्पतालका चिकित्सक र नर्स लगायतले दोषीलाई कारबाही गरिनुपर्ने माग राख्दै अस्पताल प्राङ्गणमा प्रर्दशन गरेका थिए ।

सोही दिन उनीहरुले जिल्ला प्रहरी कार्यालय जाहेरी दर्ता गरि जिल्ला प्रशासन कार्यालय बाँकेमा सर्वपक्षिय वार्ता समेत गरेको थियो । बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पीडित चिकित्सक, नर्स र अस्पताल विकास समितिको जाहेरीका आधारमा उनीहरूकाविरूद्ध शुक्रबार नै ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको जानकारी दिएका छन् । बाँके प्रहरीले भेरी अस्पतालको सुरक्षालाई लिएर शनिबार नै एसईको नेतृत्वमा २५ जना प्रहरीलाई खटाएकोछ ।

यता नेपाल नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसीले अस्पतालजस्तो संवेदनशिल क्षेत्रमा चिकित्सक र स्टाफ नर्स लगायतमाथि भएको सांघातिक आक्रमण पुनः दोहोरिन नदिन दोषिलाई हदैसम्मको कडा कारबाही गरिनुपर्ने बताइन् ।

सेतोखरीसंग कुरा गर्दै संघकी अध्यक्ष लक्ष्मीले भनिन् –‘समितिले घटनाको निष्पक्ष छानविन गरि प्रतिबेदन सिडिओसमक्ष पेश गरेकोछ । अब दोषीलाई कारबाही हुनेमा हामी ढुक्क छौं,’ उनले अगाडी थपिन्–‘ समितिले पेश गरेको सुझावसहितको प्रतिबेदन अक्षरस पालना भए दोषीलाई कारबाही हुनुका साथै आगामी दिन यस्ता घटना दोहरिदैन ।’

भेरी अस्पतालमा भएको घटनाका दोषिलाई कारबाहीका लागि संघले लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला आयोग र राष्ट्रपति समक्ष ध्यानाकर्षण पत्र समेत पेश गरिसकेकोछ ।

घटनाका सम्बन्धनमा छानबिन गरी तीन दिन भित्र प्रतिवेदन बुझाउन सहयक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोकत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेका नायव प्रहरी उपरीक्षक, अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठ, बाँके नर्सिङ संघकी अध्यक्ष लक्ष्मी केसी ओली, चिकित्सक संघका अध्यक्ष डाक्टर विनोद कर्ण, धनराम ओली, डाक्टर रमण किदवाई र सरकारी वकिल कार्यालयको तर्फबाट शान्तिविक्रम शाह सदस्य रहेको समिति गठन भएको थियो । उक्त समितिले प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको हो ।