फितलो निषेधाज्ञाले आजित जनता, प्रशासनद्वारा थपेको थपै


फितलो निषेधाज्ञाले आजित जनता, प्रशासनद्वारा थपेको थपै

नेपालगन्ज २४ जेठ : बाँकेमा फेरि एक हप्ताका लागि निषेधाज्ञा थपिएकोछ । कोरोना भाइरस संक्रमणको चेन तोड्न भन्दै जिल्लामा जारी निषेधाज्ञाको अवधि थप एक हप्ताका लागि लम्बाइएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले बाँकेमा जारी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । यो निर्णयसंगै बाँकेमा आगामी जेठ ३१ गते मध्यरातीसम्म निषेधाज्ञा कायम भएकोछ ।

प्रमुख जिल्ला अधिकारी गेलालले सोमबार जारी गरेको आदेशमा गत हप्ता झैं किनमेल गर्नका लागि बिहान ७ बजेदेखि मध्यान्न १२ बजेसम्म समय तोकिएको छ । जिल्लामा १३ वैशाखदेखि निषेधाज्ञा जारी गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकामा भने ९ वैशाखदेखि नै निषेधाज्ञा छ ।

यता कोरोना भाइरस संक्रमणको चेन तोड्ने भन्दै बाँके प्रशासनले निषेधाज्ञाको अवधि बढाउँदै जाँदा सर्वसाधरण आजित बन्दै गएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

निषेधाज्ञाको नामले यतिबेला बाँकेका सर्वसाधरण जनता आजित भएकाछन् । विशेषगरि ज्यालामजदुरी गरि जीविकोपार्जन गर्ने जनतालाई निषेधाज्ञा ‘घाँडो’ बनेकोछ ।

प्रशासनले निषेधाज्ञा लगाएपनि जिल्लामा मानिसहरुको आवजाव र भिडभाड नियन्त्रणतर्फ बाँके प्रशासन र सुरक्षाकर्मीले खासै चासो दिएका छैनन् । सडकमा सुरक्षाकर्मी खटाएपनि निषेधाज्ञाको पूर्ण पालना कसैले गरेको देखिँदैन । यसरी जारी निषेधाज्ञामै सर्वसाधरणको भीड हुनुले कोरोना भाइरस संक्रमणको चेन तोड्नुको साटो संक्रमण फैलाउन सहयोगी भूमिका प्रशासन आफैले खेलीरहेको सर्वसाधरणको भनाइछ ।

‘निषेधाज्ञा लागु भएको हो या होइन बुझ्नै गाह्रो भयो’ त्रिभुवन चोकमा भेटिएका परसपुरका अटोरिक्सा चालक रामदिन यादव भन्छन्–‘रिक्सा नचलाउ साँझविहानको जोहो कसरी गरौं, चलाउन जाउँ सुरक्षाकर्मीले दुःख दिन्छन्’ उनले भने ।

यस्तै घरबारीटोल स्थित एक घर निर्माण कार्यमा ज्यालामजदुरी गरिरहेका धम्बोझी स्थित जुम्लिटोलका हरिराम चौधरी भन्छन्–‘बाँच्नका लागि काम गर्न निस्कनुपर्छ, निषेधाज्ञाले काम नपाइने होकी भन्दै दोधार भएर घरबाट निस्कनुपर्छ ।’

उनले अगाडी थपे –‘कतिपय ठेकेदारले त निषेधाज्ञा छ भन्दै काम पनि दिदैनन् । बजारमा मानिसहरुको भीड उस्तै छ । के हो के बुझ्नै सकिएन ।’

यता जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो समय नेपालगन्जसहित बाँकेमा कोरानो सङ्क्रमितका सङ्ख्यामा कमी आएको छ । यससँगै अस्पतालमा बिरामीका चापमा पनि कमी आउँदा अस्पतालका शय्यासमेत खाली हुन थालेका छन् ।

भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा आईतबार सङ्क्रमितका लागि छुट्याइएका शय्यामध्ये दुवैका ६९, वेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ शय्या खाली रहेको जनाइएको छ ।