कोहलपुर शिक्षण अस्पतालमा ओपीडी सेवा पुनः सुचारु


कोहलपुर शिक्षण अस्पतालमा ओपीडी सेवा पुनः सुचारु

File Photo

कोहलपुर २४ जेठ : बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले बहिरंग सेवा (ओपीडी) सुचारु गरेको छ । कोरोना भाइरस संक्रमितको उपचार हुँदै आएको शिक्षण अस्पताल कोहलपुरले बहिरंग सेवा(ओपीडी) सुचारु गरेको हो ।

यसअघि कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएपछि अस्पतालले ओपीडी सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो ।

कोरोना भाइरस संक्रमण घटेसँगै आईतबारदेखि अस्पतालको ओपीडी सेवा सञ्चालन गरिएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनौडियाले जानकारी दिए ।

उनका अनुसार कोरोनाका बिरामी आउन कम भएपछि पहिले झैं नियमित रुपमा ओपीडीलगायत सेवा शुरु भएको हो । अब अस्पतालले कोरोना भाइरस संक्रमित र अन्य दुवैको उपचार सेवा नियमित गर्नेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोरोना उपचार केन्द्रका रुपमा रहेको नेपालगन्जस्थित भेरी अस्पतालको ओपीडी सेवा भने अझै सञ्चालन हुन सकेको छैन ।

बाँके जिल्लामा कोरोना सङ्क्रमण दर घटेको जस्तो देखिए पनि छिमेकी जिल्लाहरुबाट रेफर भएर आउने बिरामीको चाप घट्न नसकेकाले जोखिम कायमै रहेको भेरी अस्पतालका कोभिड स्रोत व्यक्ति डाक्टर संकेत रिसाल बताउँछन् ।

यता जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बाँकेमा जारी निषेधाज्ञा अवधि थप गरेकोछ । आगामी जेठ ३१ गतेसम्म बाँकेमा जारी निषेधाज्ञा अवधि बढाइएको हो ।