सांकेतिक तस्विर
नेपालगन्ज २५ जेठ : माध्यमिक शिक्षा परीक्षा एसईई तत्काल खारेज हुनुपर्नेमा शिक्षा सरोकारवालाले जोड दिएकाछन् । संविधान अनुसार माध्यामिक शिक्षा कक्षा १२ सम्म लागू भएकाले १० कक्षामै लिइने माध्यामिक शिक्षा परीक्षा खारेज हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् ।
साथै उनीहरुले एसईईका नाममा विद्यार्थीबाट करोडौँ रकम असुली भइरहेको पनि बताएका छन् । करोडौँ लगानी गरेर उपलब्धी नहुने भएकाले एसईई खारेज गर्नुको विकल्प नभएको उनीहरुको भनाई छ ।
शिक्षा पत्रकार समुहले सोमबार आयोजना गरेको एसईई के गर्ने ? विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षाविद् तथा सरोकारवालाहरुले यस्तोधारणा राखेकाहुन् ।
शिक्षाविद् डाक्टर विष्णु कार्कीले संविधान जारी भएर लागू भएकै दिनदेखि एसईई खारेज हुनुपर्ने बताए । तर, शिक्षा मन्त्रालयको असक्षम नेतृत्व र कर्मचारीको प्रवृत्तिले गर्दा एसईईका नाममा केही व्यक्तिलाई राष्ट्रिय परीक्षा बोर्डमा जागिर दिने काम मात्रै भइरहेको उनले बताए ।
‘जुनदिन संविधान लागू भयो । माध्यामिक शिक्षा कक्षा १२ सम्म पुग्यो । त्यही दिनदेखि एसईईको औचित्य छैन, खारेज गर्नुपथ्र्यो’, शिक्षाविद् डाक्टर कार्कीले भने, ‘तर हामी कँहा कानूनी अड्चन देखाएर भइरहेकै छ । यो संविधानको बर्खिलाप हो । विद्यार्थी र अभिभावक माथि अन्याय हो । र, उपलब्धीविहीन छ ।’
साथै शिक्षा मन्त्रालयले यसमा चरणबद्ध छलफल गरेर टुंगोमा पुगेर निर्णय गर्नुपर्ने पनि उनले जोड दिए । यस्तै परीक्षाविद् प्राध्यापक डाक्टर दिव्यमान कर्माचार्यले एसईई खारेज गर्नेबारे पटक–पटक छलफल र कुरा उठेपनि सरकारले गम्भीरताका साथ नलिएको बताए ।
‘एसईईका विषयमा पटक–पटक छलफल र अध्ययन भएको छ । प्रतिवेदन पनि तयार भएका छन्’, उनले भने, ‘तर कार्यान्वयन भएन । शिक्षा मन्त्रालयले यसबारे सुन्नै चाहेन । एसईईको औचित्य उहिल्यै सकिसकेको हो । यसलाई खारेज गर्न ढिलाई गर्नुहुन्न ।’
कार्यक्रममा राष्ट्रिय अभिभावक महासंघका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले एसईईका नाममा विद्यार्थीबाट रकम उठाएर आर्थिक शोषण गर्ने काम भइरहेको बताए ।
विद्यार्थीबाट रकम उठाउने, फेरि सरकारले राष्ट्रिय परीक्षा बोर्डलाई बजेट दिने कार्यले एसईई विद्यार्थीको सिकाई बढाउने भन्दा राज्यका लागि बोझ बनेको उनको भनाई थियो ।
विद्यार्थीलाई मानसिक तनाव दिने, अभिभावकलाई आर्थिक भार पार्ने र जहिल्यै हाउगुजी बनाउने काम भएको भण्डारीले बताए ।
‘एसईईका नाममा विद्यार्थीबाट पाँच÷पाँच सय रुपैयाँ उठाउने गरिन्छ । त्यसपछि सरकारले पनि बजेट दिन्छ’, उनले भने, ‘आखिर यो सबै बजेटले विद्यार्थीलाई के दिएको छ ? त्यसका विषयमा छलफल र बहस हुनुपर्छ कि पर्दैन ? एसईई आतंक हो । यो तत्कालै बन्द गरौँ ।’
यस्तै भर्चुअल कार्यक्रममा पूर्व सांसद तथा एमाले नेतृ सरिता न्यौपानेले निजी विद्यालयबाट पैसा उठाउनका लागि एसईईलाई निरन्तरता दिने काम भइरहेको बताइन् ।
संविधानले विद्यालयलाई सबै अधिकार दिएका बेला एसईईका नाममा सरकारले नै अभिभावक र विद्यार्थीमाथि आतंक फैलाएको उनको भनाइ छ ।
यसबाट सरकारी तथा निजी विद्यालय पीडित भएको पनि उनले बताइन् । ऐनलाई कारण देखाएर औचित्यहीन एसईई खारेज गर्न ढिलाई गर्न नहुने उनको धारणा छ ।
‘एसईईले गर्दा सामूदायिक र संस्थागत विद्यालय नराम्ररी पीडित छन् । तर, उनीहरुले पैसा उठाइरहेका पनि छन्’, न्यौपानेले भनिन्–, ‘विद्यालयलाई पैसा उठाउने काम एसईईले गरिरहेको छ । यसरी विद्यार्थी र अभिभावकबाट आर्थिक शोषण गर्ने कामबाहेक अरु ठूलो कुरा एसईईले गरेको छैन । त्यसैले तत्कालै खारेज गर्नुपर्छ ।’
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणी पौडेलले शिक्षा ऐनका कारण एसईई खारेज गर्न नसकिने र तत्कालै हुने सम्भावना पनि नरहेको बताए ।
शिक्षा ऐनमा एसईई सञ्चालन गर्नुपर्ने प्रावधान रहेको र नयाँ ऐन नल्याएसम्म यो पद्धति हटाउन नसकिने उनको भनाई छ ।
‘एसईई एउटा परीक्षामात्रै होइन, पद्धति हो । पद्धति हटाउन सकिदैन’ पौडेलले भने, ‘यसका विषयमा धेरैपटक शिक्षा मन्त्रालय र मन्त्रीज्यूँसँग कुराकानी गरेको छु । तर, सकिएन । त्यसैले प्रधानमन्त्रीसँग लबिंग गर्नुपर्यो । यसमा परीक्षा बोर्डले केही गर्न सक्दैन ।’
कोभिड–१९ का कारण सरकारले यस वर्षको एसईई स्थगित गरेर आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । गएको वर्ष पनि कोभिडका कारण एसईई परीक्षा स्थगित गरिएको थियो ।
शिक्षक, विद्यार्थी, पत्रकार लगायत शैक्षिक सरोकारवाला सहभागि भएको भर्चुअल कार्यक्रमको सहजीकरण शिक्षा पत्रकार समुहका पूर्व अध्यक्ष हरि थापाले गरेका थिए ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु