कोरोनाबाट ज्यान गुमाएकी जसोदाको स्मृतिमा बृक्षारोपणसहित चौतारो निर्माण


कोरोनाबाट ज्यान गुमाएकी जसोदाको स्मृतिमा बृक्षारोपणसहित चौतारो निर्माण

नेपालगन्ज २८ जेठ : बैजनाथका उदयमान युवा उद्यमी डम्बर रावत र उनको परिवारले स्वर्गीय आमा जसोदा रावतको स्मृतिमा बृक्षारोप सहित चौतारो निर्माण गरेको छ ।

कोरोना संक्रमणबाट गत वैशाख १४ गते कोहलपुर स्थित शिक्षण अस्पतालमा उपचार गराउँदा गराउँदै निधन भएकी स्थानीय समाजसेवि खिम बहादुर रावतको धर्मपत्नी जसोदाको ४५औँ पुण्य तिथिको अवसरमा मानखोला घाटमा चौतारो निर्माण गरिएको हो ।

झण्डै एक लाख खर्च भएको सोको एक समारोहका बिच मृतका ससुरा र सासुले उद्घाटन गर्दै बुहारीको स्मृतिमा ‘जसोदा स्मृति चौतारो’ नामाकरण गरेको युवा उद्यमी रावतले जानकारी दिए ।

मृतकका जेठा छोरा रावतका अनुसार मानखोला घाटमा मलामीहरुलाई बस्न र शितलता प्रदानका लागि आमाको स्मृतिमा पक्की चौतारो निर्माण गरिएको हो ।

त्यसैगरि जसोदाको स्मृतिमा बैजनाथ–६ स्थित हरियाली सामुदायिक वन हाताभित्र रहेको खेलमैदानमा महत्वपूर्ण एक सय १ वटा विभिन्न जातका बिरुवाहरु समेत रोपिएको रावतले बताए ।

सो खेलमैदानमा असोक, स्वामी, छतिवन लगायतका महत्वपूर्ण बिरुवाहरु मृतको स्मरणमा रोपिएको छ ।