देशभर ५२२५ जनाले कोरोना जित्दा ३७५० जनामा संक्रमण पुष्टि


देशभर ५२२५ जनाले कोरोना जित्दा ३७५० जनामा संक्रमण पुष्टि

नेपालगन्ज २८ जेठ : पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८६.२ प्रतिशत रहेको छ ।

पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी हुन थालेपछि सक्रिय संक्रमितको संख्या घट्दै ७५ हजार २७५ पुगेको छ । यसमध्ये ६९ हजार ६८६ जना होम आइसोलेसन, ५ हजार ५८९ जना संस्थागत आइसोलेसन, १ हजार १८९ जना आईसीयूमा र ३६६ जना भेन्टिलेटरमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७५० जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार १५ हजार १८२ जनामा गरिएको परीक्षणमा उक्त संख्यमा संक्रमित थपिएका हुन् ।

९ हजार ५९८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गरिएको थियो भने ५ हजार ५८४ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

पीसीआरबाट २ हजार ७०९ र एन्टीजेनबाट १ हजार ४१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालका पीसीआरबाट कोरोना संक्रमित हुनेको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ । यस्तै, एन्टीजेनबाट १८ हजार ७५५ जनामा कोरोना पहिचान भएको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा नेपालमा थप ६७ जनाको मृत्यु भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप ६७ जनाको मृत्यु भएको हो ।

यससँगै कोरोनाबाट अहिलेसम्म नेपालमा ८ हजार ३०५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।