नेपाल आइपुग्यो यसपालिको मनसुन, तीनओटा प्रदेशमा भारी वर्षाको सम्भावना


नेपाल आइपुग्यो यसपालिको मनसुन, तीनओटा प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालगन्ज २९ जेठ : नेपालमा शुक्रबार मनसुनी वायु प्रवेश गरेको छ । पूर्वी नेपाल हुँदै मनसुन शुक्रबार नेपाल पसेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुन प्रदेश १, २ र वागमतीमा फैलिइसकेको छ भने एक–दुई दिनमै देशभरि फैलिने छ ।

यसपालिको मनसुन औसतभन्दा २ दिनअघि नै नेपाल आएको हो । पछिल्लो समय नेपालमा मनसुन आउने मिति जुन १३ तय भएको छ ।

‘आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाले भनेको छ ।

जुन ३ मा भारतको केरला आइपुगेको मनसुन नेपाल आइपुग्न १० दिनजति लाग्ने अनुमान गरिएको थियो । तर, उत्तरपूर्वी भारतमा नै चार–पाँच दिन पहिलानै मनसुन आइपुगेकाले नेपालमा पनि अलि छिटो नेपाल पुगेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

जल तथा मौसम विभागको हावापानी विज्ञान महाशाखाले यसपालिको नेपालमा औसतभन्दा बढी वर्षा हुने बताएको छ ।

महाशाखाकी प्रमुख इन्दिरा कँडेलका अनुसार दक्षिण एसियाली मुलुकका मौसमविद् र वैज्ञानिकहरूको भेलाबाट हरेक वर्ष यो क्षेत्रमा कस्तो मनुसुनी गतिविधि हुन्छ भन्ने आँकलन गरिन्छ ।

‘सबै ८ देशका मौसमविदसँगै उक्त भेलामा अरू देशका पनि मौसमविद् र वैज्ञानिकहरू सहभागी हुन्छन् । त्यहाँ सबैले आ–आफ्नो देशमा कस्तो मनसुनी गतिविधि हुन सक्छ भनेर कुरा राख्छन्,’ कँडेलले भनिन्,‘त्यसपछि यो क्षेत्रमा कुनै वर्षको मनसुन कस्तो हुन्छ भन्ने पूर्वानुमान सार्वजनिक गरिन्छ ।’ यसपालि उक्त भेला भर्चुअल रूपमा भएको थियो ।

महाशाखाका अनुसार यसपालि मनसुनमा नेपालमा सरदरभन्दा बढी वर्षा हुनेछ ।

‘आगामी मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थानहरुमा तथा प्रदेश नम्बर– १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भू–भागहरुमा सरदर भन्दा बढी बर्षा हुने सम्भावना ३५–६५% (हिमाली भू–भागहरुमा ५५–६५%, उच्च पहाडी भू–भागहरुमा ४५–५५% र चुरे तथा महाभारत क्षेत्रमा ३५–४५%) आँकलन गरिएको छ,’ महाशाखाले भनेको छ,‘त्यसैगरी लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश नं २ को पश्चिमी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५–४५%, र प्रदेश नं १ को तराई र प्रदेश नं २ का पूर्वी जिल्लाहरुमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५–४५% आँकलन गरिएको छ ।’

तीनओटा प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली भई अहिले (बिहान) थोरै स्थानहरुमा पानी परिरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

विभागका अनुसार आज साँझ देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी बर्षाको पनि संभावना रहेको छ ।

देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसैबीच, हिजो (शुक्रबार) दिउँसोबाट नेपालमा मनसुन भित्रिएको छ । बंगालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजबाट नेपालमा मनसुन भित्रिएको हो ।

नेपालको पूर्वी भूभागहरु प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा भित्रिएको मनसुन एकदुई दिनमै देशैभरी फैलिने विभागले जनाएको छ ।

आगामी सातासम्म मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।