नेपालगन्ज २९ जेठ : बालश्रम विरुद्धको दिवस मनाइरहदाँ मात्र बालश्रमको मूल्याङ्कन गर्ने बौद्धिक जमातहरुलाई दिवसले कुरीकुरी गरिरहेकोछ । नेपालगन्जमा बालश्रमिकहरु दैनिक बढ्दै गइरहेका छन् । आर्थिक स्थिति कमजोर भएका परिवारका बालबालिकाहरु विभिन्न व्यवसायिक प्रयोजनका लागि बालश्रमिकका रुपमा काम गर्दै आएका छन् ।
बालअधिकारका क्षेत्रमा काम गर्ने धेरै संघसंस्थाहरु भएपनि उनीहरुको उचित विकल्पसहित व्यवस्थापन गर्न नसक्दा दैनिक रुपमा बाल श्रमिकको संख्यामा बृद्धि भइरहेको छ ।
नेपालगन्जका अधिकांश होटल तथा व्यवसायिक क्षेत्रमा काम गर्ने बालबालिकाहरु नै छन् । यति मात्र होइन वर्षेनी बालबालिकाको अधिकार रक्षा र श्रमिकका रुपमा काम गरिरहेका बालबालिकालाई उचित शिक्षा नै दिनेगरी पुनःस्थपनाका नाममा लाखौं खर्च हुँदा पनि बालबालिकाको अवस्था फेरिन सकेको छैन ।
नेपालगन्ज शहरका अधिकांश साना तथा मझौला होटलहरुमा कामदारका रुपमा बालिबालिकाले नै श्रम गरिरहेका छन् । कम मूल्यमा नै बालबालिकालाई काम लगाउन पाएपछि व्यवसायीहरुले पनि अन्य कामदारको सट्टामा बालबालिकालाई नै प्रयोग गर्छन् ।
पढाउने निहुँमा बालबालिकालाई राख्ने र शिक्षाको अधिकारबाट वञ्चित नै गराएर काममा लगाउँदा समृद्ध नेपालको परिकल्पना साकार नहुने प्रष्ट हुन्छ ।
नेपालको संविधान २०७२ ले पनि बालश्रमलाई संवैधानिकरूपमा नै निषेधित गरेको छ तर, पनि बालश्रमले आधुनिक दासताको रूपमा समाजमा जरा गाडेको छ ।
बालश्रम शोषणले बालबालिकाको आधारभूत अधिकारको हनन् गर्छ । बालश्रम शोषणका कारण उपमहानगरपालिकाका हजारौं बालबालिका शिक्षालगायतका नैसर्गिक अधिकारबाट बञ्चित छन् ।
बालबालिका सम्बन्धि बनेको ऐन अनुसार कुनै आर्थिक अवस्था कमजोर भएको बालबालिकालाई घरेलु कामकाजको लागि राख्दा गुणस्तरीय खानपान र शिक्षाको प्रदान गरेको हुनपर्दछ । तर, नेपालगन्जका होटेलमा होस्, घर वा उद्योगमा काम गर्ने बालबालिकाले शिक्षाको पहुँच त परै जाओस् आधारभुत आवश्यकताको सुविधा समेत पाउँदैनन् ।
यस्तै, घरेलु कामदारका रुपमा प्रयोग गरिएका बालबालिकाले पनि उचित शिक्षा र खानपानको सुविधा प्राप्त गरेका छैनन् । त्यतीमात्र होइन ती बालबालिकाले माया, हेरचाह, स्याहारबाट बञ्चित नै छन् ।
बालश्रमिकको जीवन स्तर उकास्न र उनीहरुको अधिकार प्राप्तीका लागि कसैको पनि ध्यान पुग्न सकेको छैन । सम्बन्धित निकायले बालश्रमिक मुक्त गराउने नाउमा संघ संस्थाले काम गरिरहेको ठाउँबाट छुटाएर परिवारको जिम्मा लगाउने पनि गरेका छन् । तर, परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण विकल्प नहुँदा पुनः सोही श्रमबजारमा होमिन बालबालिका बाध्य छन् । यस्तो कार्यले संस्थाहरुको औपचारिकता पुरा हुने बाहेक अन्य प्रभावकारी काम हुन सकेको छैन ।
उपमहानगरपालिकामा कति र कस्ता प्रकृतिका बालश्रमिक छन् भन्ने यकिन तथ्यांक छैन । जसका कारण बालश्रमिकहरुको अवस्था यकिन गर्न अप्ठेरो परेकोछ ।
सन् २००९ मा तत्कालिन नेपालगन्ज नगरपालिकालाई बालश्रम मुक्त नगरपालिकाकारुपमा घोषणा गरिएको थियो । तर, अहिले अवस्था फेरिएको छ । नेपालगन्ज उपमहानगरपालिका भएसगैं यसको कार्यक्षेत्र पनि बढेकोछ । साविकका १० गाविसलाई नगरपालिकामा गाभेर बनेको उपमहानगरपालिकामा बालबालिकाका समस्या जटिल र चिन्ताजनक बन्दै आएकोछ ।
नेपालगन्ज र यसआसपास रहेक ईट्टा भट्टा, उद्योग, फर्निचर पसल, विभिन्न होटल, पसल, ग्यारेज लगायतका क्षेत्रमा बालबालिकाको उल्लेख्य प्रयोग भएको पाइन्छ ।
जसमध्ये अधिकासं बालबालिका १६ वर्ष मुनिका छन् । यसरी यसक्षेत्रमा काम गर्ने बालबालिकाहरु विभिन्न किसिमका जोखिममय वातावरणमा जिवन निर्वाह गरिरहेकाछन् ।
‘बालबालिका भनेको त्यो मान्छे हो जसले १६ वर्ष पुरा गरेको छैन । नेपालमा बालश्रमको रुपमा काम गर्नका लागि बालबालिकाहरु कम्तिमा १४ वर्षको हुनुपर्दछ, ६ घण्टा भन्दा बढी काम गर्न नपाइने, काम गर्दा साँझको ६ बजेदेखि विहानको ६ बजेसम्म गर्न नपाइने ६ घण्टामा ३ घण्टा पछि ३० मिनेटको मध्यान्तर हुनैपर्ने र काम गर्नलाई कसैले पनि दबाव दिन नपाउने ।’ नेपालको कानूनले भन्छ । तर, पछिल्लो समय खुला सीमाना, रोजगारी लगायत विभिन्न कुराको केन्द्र विन्दू नेपालगन्ज बन्दै गएपछि बालश्रमिकहरुको पनि संख्यामा उल्लेख्य बृद्धि भइरहेकोछ ।
नेपालगन्जमा विशेषगरि कलकारखाना, होटल, व्यवसाय, ग्यारेज, यातायात, घर तथा निर्माण कार्य एबम सडकमा फोहोर उठाउने कार्यमा बालबालिकाहरुको संख्या बृद्धि भइरहेकाछन् ।
आर्थिक अवस्था कमजोर हुनु, पारिवारिक विखण्डता तथा द्वन्द्व, साथीभाईको लहलहैमा लाग्नु र विद्यालय छाड्ने जस्ता प्रमुख कारणले यतिबेला उपमहानगरपालिकामा बालश्रमिकहरुको संखया बढेको बालअधिकारक्षेत्रमा क्रियाशिल शेरबहादुर रौले बताउछन् ।
यसरी आर्थिक लोभ तथा विभिन्न कारणले श्रममा लाग्ने बालबालिकाको भविष्य चुनौतिपूर्ण भएकाले बालश्रम न्यूनिकरणमा स्थानीय तहबाटै प्रभावकारी ढंगबाट अभियानमुलक कार्य गरिनुपर्ने उनी बताउँछन् ।
बालश्रममै लागेका कतिपय बालबालिकाहरु अन्जानमा तथा अरुको प्रभावमा परेर गैरकानूनी कार्यमा लागेको प्रहरीको एक अध्ययनले प्रष्ट पारेकोछ ।
यद्यपी घरेलु बालमजदूरका रुपमा बालबालिकालाई प्रयोग गर्ने चलनमा केही कमि आएता पनि पूर्णरुपमा बालश्रमको अन्त्य भने हुन सकेकोछैन । यसअघि नेपालगन्ज उपमहानगरपालिकालाई सन् २०१७ को अन्त्यसम्म बालमैत्री नगरपालिकाका घोषणा गर्ने नगरबैठकले निर्णय समेत गरेको थियो । तर, स्थानीय निकायमा जनप्रतिनिधीको उपस्थिती हुनु र साविकका गाविस गाभिनुले बालमैत्री घोषणा गर्ने अभियान फितलो बनेकोछ ।
जनप्रतिनिधीहरुको उपस्थिती हुदाँ समेत बालमैत्री अभियान र यसको महत्वका विषयमा न त उपमहानगरपालिकाले नै ठोस् कदम चाल्न सकेको छ न त सम्बन्धित वडाले ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु