विद्यार्थी टिकाई राख्न खजुराले ल्यायो नयाँ रणनीति


विद्यार्थी टिकाई राख्न खजुराले ल्यायो नयाँ रणनीति

नेपालगन्ज ३० जेठ : विद्यालयमा विद्यार्थी टिकाई राख्न बाँकेको खजुरा गाँउपालिकाले नयाँ रणनीति अघि सारेकोछ । गाउँपालिकाले बिचमै विद्यालय छाड्ने विद्यार्थीलाई टिकाउन यस्तो नयाँ रणनीति बनाएको हो ।

जिल्लामै पहिलो पटक खजुरा गाउँ शिक्षा पञ्च वर्षीय योजना तयार गरेको गाउँपालिकाले ४० जना विद्यार्थी बराबर एक जना शिक्षक हुनुपर्ने मापदण्ड बनाएको छ ।
संघीय हिसावमा ५० जना विद्यार्थी बराबर एकजना शिक्षक पर्छन् । पञ्च वर्षीय योजनाअन्तर्गत पालिकाले २५ जना शिक्षक करारमा लिएर दरबन्दी नभएका विद्यालयमा पठाएको छ ।

एकजना शिक्षक बराबर ४० जना भन्दा बढी विद्यार्थी भएको स्कुललाई पालिकाले अनुदान दिने र त्यसबाट शिक्षक नियुक्ति गर्ने प्रबन्ध मिलाइएको छ । खजुरा गाउँपालिकामा मदरसासहित ३४ वटा सामुदायिक विद्यालयलाई ३० लाख अनुदान निकासा समेत गरिएकोछ ।

विद्यालय भर्ना भएका विद्यार्थीहरु विभिन्न कारणले बिचमै विद्यालय छाड्ने समस्या बढ्दै गएपछि गाँउपालिकाले यस्तो रणनीति बनाएको हो । पारिवारिक, आर्थिक, सामाजिक, साँस्कृतिक, साथीभाइको लहलहमै लाग्नु र स्वास्थ्य जस्ता कारणले विद्यार्थीले बिचमै विद्यालय छाड्ने गरेकाछन् । जसमा अधिकासं विद्यार्थी आर्थिक अवस्था तथा साथीभाईसंगको संगतले गर्दा विद्यालय बिचमै छाड्ने गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल बताउँछन् ।

Kids Festival 2022
kanti aarogya hospital

उनका अनुसार गाउँपालिकामा एक हजार एक सय १९ जना अर्थात् ७ प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । उनीहरू धेरैजसो विद्यालय प्रवेश गरेर छुटेकामा पर्छन् ।
शिक्षा शाखा प्रमुख मल्लले ‘समता रणनीतिक कार्यान्वयन योजना’ बनाएर गाउँपालिका ड्रपआउट विद्यार्थीलाई स्कुलमा भित्र्याएर टिकाइराख्ने गरी लागिपरेको जानकारी दिए ।

विद्यार्थी र अभिभावक केन्द्रित विभिन्न योजना बनाई विद्यालयमा विद्यार्थीको उपस्थिती नियमित र टिकाई राख्न शिक्षा शाखासहित विद्यालय ब्यवस्थापन समिति, अभिभावक संघ, आमा समुह तथा बालक्लब र किसोरी क्लबमा सचेतिकरण तथा उनीहरुको सक्रियता बढाउदै लगिएकोछ ।

खजुराले यो रणनीतिक योजना कार्यान्वयनका लागि ११ लाख रुपैयाँ छुट्याएको छ । खजुराको यो रणनीतिलाई संघीय सरकारले पनि सहयोग गरेको छ । संघले त्यसका लागि १३ लाख रुपैयाँ पठाइदिएको छ ।

शिक्षा शाखा प्रमुख मल्लले पारिवारिक सर्वेक्षण गरेर विद्यालयबाहिर रहेका बालबालिकाको तथ्यांक निकालिएको बताए । कोरोनाले गर्दा घरदैलो गरेर भर्ना गर्ने अभियान प्रभावित भएको छ । असार १ गतेदेखि वैकल्पिक प्रणालीबाट पढाउने तयारी भइरहेको उनले बताए ।

विद्यालयबाहिर रहेका बालबालिकाको तथ्यांक आइसकेकाले उनीहरूलाई विशेष सुविधा दिएर विद्यालय प्रवेश गराउने तयारी भएको मल्लले बताए । ‘अरुले चार सय रुपैयाँ छात्रावृत्ति पाउँछन्, अहिले विद्यालयबाहिर रहेकालाई एक हजार रुपैयाँसम्म दिन सकिन्छ,’ मल्लले भने, ‘जसरी पनि उनीहरूलाई विद्यालय प्रवेश गराउने र टिकाउने अभियानमा लागेका छौं ।’

खजुरा गाउँपालिकामा मदरसा र सामुदायिक विद्यालय गरि जम्मा ६४ वटा विद्यालय छन् । जहाँ १८ हजार बढी विद्यार्थी छन् । यसमा सरकारी विद्यालयमा पढ्ने १३ हजार विद्यार्थी छन् ।

गाउँपालिकाले अनिवार्य निःशुल्क शिक्षा चलाउन ३७ लाख ८८ हजार छुट्याएको छ । खजुरा यसअघि अनिवार्य तथा निःशुल्क शिक्षा प्राप्त गाउँपालिका घोषणा भइसकेकोछ ।