सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
नेपालगन्ज २ असार : लगातार वर्षाका कारण देशभर बाढीपहिरोले वितण्डा मच्चाइरहेका बेला थप केही दिन पानी पर्ने मौसविद्ले बताएकाछन् ।
अझै कम्तीमा तीनदिन निरन्तर पानी पर्नेछ तर, मंगलबार र बुधबारको तुलनामा केही कम वर्षा हुनेछ यद्यपी यो प्रक्रिया नरोकिने मौसमविद्को भनाइ छ ।
‘हिजो र आजको तुलनामा भोलि र पर्सी केही कम पानी पर्छ तर रोकिँदैन’, मौसमविद् मीनकुमार अर्याल भन्छन्, ‘तर हिजो र आज जसरी अति भारी वर्षा भयो त्यही अनुपातमा हुँदैन । यद्यपि भोलि पनि गण्डकी, वाग्मती र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ ।’
अझै चारपाँच दिन पानी पर्ने सम्भावना रहेको उनी बताउँछन् । यद्यपि तीनदिनको मौसमी प्रणाली मात्रै आफूहरुले निश्चित गर्ने बताउँदै पानी कम परे पनि सचेत हुनुपर्ने मौसमविद् अर्याल बताउँछन् ।
ठूलो पानी परेर जमिन गलेकाले सानो पानी परे पनि पहिरो जानसक्ने भएकाले यसबाट सचेत हुनुपर्ने उनको भनाइ छ ।
‘यो वर्ष मनसुन सुरु हुनबित्तिकै अपेक्षा गरेभन्दा ठूलो पानी पर्यो । ठूलो पानी पर्दा जमिन गलेकाले जुनसुकै बेला जमिन चिप्लिन सक्छ’, उनी भन्छन्,‘त्यसैले कमजोर पहाडी भू–भागमा बसोबास गर्ने व्यक्ति सचेत हुनुपर्छ ।’
कमजोर जमिनमा बस्ति छ भने स्थानान्तरण गर्नुपर्नेमा उनको जोड छ । नदी किनारमा रहेका बस्ती केही समयका लागि स्थानान्तरण गर्न उनको सुझाव छ ।
‘पहाडमा ठूलो पानी पर्दा त्यसको असर तराईमा नदी किनारमा देखिन्छ । पहाडमा कुनबेला पानी परिरहेको छ भन्ने थाहा नहुँदा कुन समय नदीमा बाढी आउँछ भन्ने तराईमा थाहा हुँदैन । रातको समयमा बाढी आयो भने तराइको नदीकिनारका बस्तिमा जनधनको ठूलो क्षति हुनसक्छ’, मौसमविद् अर्याल भन्छन्, ‘त्यसैले नदीकिनारमा रहेका बस्ती र कमजोर पहाडका बस्ति केही समयका लागि सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने देखिन्छ ।’
स्थानीय निकायले यसमा सहयोग गर्नुपर्नेमा उनी बताउँछन् । अन्यथा ठूलो क्षति हुनसक्नेतर्फ उनी सचेत गराउँछन् । कतिपय नदीमा अलर्ट राखिएको र ती अलर्ट आफैं बज्ने भएकाले त्यसमा ध्यान दिन र त्यसको पहुँच नभए फोन गरेर भए पनि बुझेर सचेत रहन उनको सुझाव छ ।
मौसमविद् अर्यालका अनुसार भोलि (बिहीबार) देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।
शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहने छ भने मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिए ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु