नेपालगन्ज २ असार : नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका पत्रकारहरुलाई २ लाखको दुर्घटना वीमा प्रदान गर्ने भएको छ ।
महासंघ अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
जिल्लाका पत्रकारहरुको सम्भावित जोखिमलाई मध्यनजर राख्दै उपचारमा सघाउ पुर्याउने उद्देश्यले सम्पूर्ण सदस्य र जिल्लामा क्रियाशिल रहेका अन्य पत्रकारका लागि समेत २ लाखको दुर्घटना वीमा र (बीस हजारसम्मको उपचार खर्च सहित) गर्ने निर्णय गरेको अध्यक्ष भण्डारीले बताए ।
उक्त निर्णय चाँडै कार्यान्वयन गर्ने गरी प्रक्रिया थालिएको छ भने यसबाट मोफसलमा रही सञ्चारक्षेत्रमा क्रियाशिल रहेका बाँकेका पत्रकारलाई आइपर्ने सम्भावित जोखिम टार्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
सचिव कमल डाँगीद्वारा जारी बिज्ञप्तीमा नेपाल पत्रकार महासंघ बाँकेको पहलमा हालसम्म जिल्लामा कार्यरत पत्रकारलाई कोरोना बिरुद्धको खोप लगाउन समन्वय गर्ने सरोकारवाला निकायलाई हार्दिक आभार प्रकट गरिएको छ ।
कोरोना बिरुद्धको अभियानमा फ्रन्टलाइनमा रही काम गर्ने धेरै पत्रकार अझैँ पनि खोप लगाउनबाट बञ्चित भएकोले चाँडो भन्दा चाँडो खोपको व्यवस्था गर्न सम्बन्धित पक्षसंग जोडदार माग समेत गरिएको छ ।
साथै महासंघले लगातार आएको वर्षातका कारण बाढी, पहिरोको जोखिम बढेको भन्दै बाढीको उच्च जोखिममा रहेको बाँकेमा पूर्वतयारी गरी जनधनको रक्षा गर्न सरोकारवाला पक्षसंग अपील समेत गरेकोछ ।