नेपालगन्ज ५ असार : लगातार कोरोना संक्रमित र मृतकको संख्या ओरालो लागेसंगै यतिबेला बाँकेका कोभिड–१९ उपचार हुने अस्पतालका शय्यहरु खाली हुन थालेकाछन् ।
देशमै वैशाखमा मृत्युदर र संक्रमण दर ह्वात्तै बढेको बाँकेमा जेठ महिनामा कोरोना परीक्षण गर्ने र संक्रमण दर घट्दै गएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेको तथ्यांकले देखाएको छ ।
बाँकेमा कोरोना संक्रमितको संख्या घटेसंगै जिल्ला प्रशासन कार्यालय बाँकेले पनि जारी गरेको निषेधाज्ञालाई केही फितलो बनाउँदै लगेकोछ । पछिल्लो पटक प्रशासन कार्यालयले जारी गरेको निषेधा अवधि असार ७ गतेसम्मका लागि बढाएको भएपनि अत्यावश्यक पसल व्यवसाय दिउँसो २ बजेसम्म सञ्चालन गर्न अनुमति दिएकोछ । यस्तै बैंक तथा वित्तिय संस्था लगायतका कार्यालयहरुमा समेत स्वास्थ्यको मापदण्ड पुरा गरि सावधानीका साथ सञ्चालन गर्न निर्देशन दिएकोछ ।
कोरोना नियन्त्रणका लागि खटाइएका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार, जेठ १ गते ३ सय ६८ जनाले कोरोना परीक्षण गरेका थिए । जेठ ३१ गते ९० जनाको परीक्षण भएको छ ।
तथ्यांक हेर्दा जेठ १० गतेसम्म तीन सय जना बढीले कोरोना परीक्षण गराएका छन् । जेठ २१ गतेसम्म दुई सय बढीले परीक्षण गरेका छन् । त्यसपछि कोरोना परीक्षण घट्दै घट्दै गएको छ । जेठ ३० र ३१ गते ९०/९० जनाको परीक्षण भएको छ ।
बाँकेमा तीनवटा प्रयोगशालाबाट कोरोना परीक्षण हुदैँ आएकोछ । जसमा सरकारी तहको भेरी अस्पताल र निजी स्तरमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र बागेश्वरी ल्याबमा कोरोना परीक्षण हुँदै आएको छ ।
जनस्वास्थ्य अधिकृत श्रेष्ठका अनुसार, सुरुवातीमा अस्पतालहरुमा आएर कोरोनाका लक्षण देखिएका व्यक्तिले परीक्षण गर्ने गर्दथे । तर, जेठदेखि यो संख्या घट्दै गएको छ ।
यसैबीच, परीक्षण गर्ने र संक्रमण दर घट्दै गएपछि अस्पतालका बेडहरु खाली हुँदै गएका छन् । बाँकेमा अस्पतालहरुमा कोरोनाका लागि छुट्याइएको ८० प्रतिशत बेड खाली भइसकेका छन् ।
यतिबेला बाँकेमा सक्रिय संक्रमित सय भन्दा कम भइसकेको छ । केही दिनयता चौबिस घण्टामा एक/दुई जनाको मृत्यु हुने गरेको छ ।
वैशाखमा यो संख्या ह्वात्तै बढेको थियो । कोरोनाबाट शनिबार दिउँसो साढे २ बजेसम्म बाँकेका ३ सय १० जना र बाहिरी जिल्लाबाट उपचार गराउन आएका ३ सय ४४ जनाको मृत्यु भएको छ । योसंगै बाँकेमा कुल ६५४ जनाको मृत्यु भइसकेकोछ ।
सुरुवातीमा बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा कहिले बाँके अगाडि त कहिले बाहिरी जिल्लाका अगाडि हुने गर्दथ्यो । पछिल्लो समयमा बाँकेमा बाहिरी जिल्लाबाट आएका संक्रमितको धेरै मृत्यु हुने गरेकोछ ।