नेपालगन्ज ६ असार : कोरोना भाइरस संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङ्गले दुई प्रहरीलाई सम्मान गरेकोछ ।
जिल्ला प्रशासन कार्यालय दाङ्गमा एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले दाङ्ग प्रहरी प्रमुख गणेश चन्द र प्रहरी निरीक्षक झपेन्द्र परियारलाई सम्मान गरेको हो ।
कोरोना भाइरस संक्रमणले थलिएको दाङ्ग जिल्लामा कोरोना भाइरस संक्रमण नियन्त्रण, यसको रोकथामका साथै संक्रमितहरुको उपचार र अक्सिजन सिलिण्डर व्यवस्थापनमा उल्लेख्य काम गरेको भन्दै प्रहरी उपरीक्षक चन्द र प्रहरी निरीक्षक परियार सम्मानित भएका हुन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जिल्लामा कोरोना नियन्त्रण, व्यवस्थापन, लकडाउन कार्यान्वयन र विरामीहरुलाई अस्पतालमा अक्सिजन सिलिण्डर व्यवस्थापनसँगै जिल्लामा शान्तिसुरक्षा कायम गर्न सक्षम भूमिका निर्वाह गरेकाले उहाँहरुको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको बताए ।
प्रजिअ पौडेलले सम्मानित हुने दुवैजनालाई खादा ओढाएर प्रशंसा–पत्र प्रदान गरेका थिए ।