नेपालगन्ज ८ असार : कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि भन्दै बाँके प्रशासनले गत वैशाख १३ गतेदेखि लगाएको निषेधाज्ञा हटाइने भएकोछ।
देशमै कोरोना भाइरस संक्रमणले जकडिएको बाँकेमा पछिल्लो समय कोरोना भाइरस संक्रमित र मृतकको संख्यामा ओरालो लागेकोछ ।
जिल्लामा कोरोना भाइरस संक्रमण र यसबाट मृत्यु हुनेको संख्यामा कमी आएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले चरणबद्धरुपमा निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेकोछ ।
पछिल्लोपटक बढाइएको निषेधाज्ञाको अवधि हिजो सोमबार राती १२ बजे सम्म कायम गरिएको थियो । निषेधाज्ञाको समवअवधि सकिन लाग्दै गर्दा बाँके प्रशासनले थप एक साताका लागि निषेधाज्ञा थपेकोछ । यसपटकको निषेधाज्ञामा पहिलेभन्दा झन खुकुलो पारिएकोछ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिमा सोमबार भएको छलफलले आगामी असार १५ गतेदेखि जिल्लामा लगाइएको निषेधाज्ञा पूर्णरुपमा हटाइ जनजिवन सामान्य पारिदैछ ।
स्रोतले सेतोखरीलाई भन्यो–‘जिल्लामा कोराना भाइरस संक्रमणको दर र यसबाट मृत्यु हुने संख्यामा गिरावट भएकोछ । हामी जिल्लाको जनजिवन सामान्य बनाउन तर्फ लागिरहेकाछौं ।’ उनले भने–‘बैठकमा आगामी असार १५ गतेदेखि निषेधाज्ञा हटाउने छलफल भएकोछ । यो अवधिसम्म केन्द्र सरकारबाट आउने निर्देशनले प्रभाव पार्छ तर, जिल्लाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै प्रदेश तथा केन्द्रबाट निर्देशन नआएको खण्डमा हामी बाँकेको निषेधाज्ञा हटाउनेछौं ।’
यद्यपी जिल्लामा कोरोना भाइरस संक्रमणको अवस्था र यसको जोखिम उच्च रहेकाले स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गरि दैनिक कार्य गर्न सबैलाई आग्रह गरिएकोछ ।
स्थानीय प्रशासनले सोमबार जारी सूचना अनुसार आजदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेकोछ । कार्यालयमा भिडभाड नहुनेगरी सेवा प्रवाह व्यवस्थित गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै सबै सार्वजनिक निकाय, बैंक तथा वित्तिय संस्थाहरु खोल्न प्रशासनले भनेको छ ।
यस्तै दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सामाग्री खरिद विक्रीका लागि विहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म पसल व्यवसाय खोल्न अनुमति दिएकोछ । यसअघि विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म पसलहरु खुल्दै आएका थिए । तर, विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र भने खुल्ने छैनन् ।