बाँकेमा निषेधाज्ञा फेरि थपियो, पसल सञ्चालनको अवधि बेलुका ९ बजेसम्म


बाँकेमा निषेधाज्ञा फेरि थपियो, पसल सञ्चालनको अवधि बेलुका ९ बजेसम्म

नेपालगन्ज २१ असार : कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बाँकेमा पुनः निषेधाज्ञा थपिएकोछ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार एक सूचना जारी गर्दै बाँकेमा जारी निषेधाज्ञा थप बढाइएको जनाएकोछ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी उक्त सूचनामा बाँकेमा आगामी असार ३१ गतेसम्मका लागि निषेधाज्ञा अवधि थपिएकोछ ।

बाँकेमा पछिल्ला दिन कोरोना संक्रमितको दर क्रमश घट्दै गएपनि कोरोना भाइरस संक्रमणको जोखिम अझैं कायम रहेको भन्दै निषेधाज्ञा अवधि बढाइएको प्रजिअ गेलालले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार बाँकेमा शैक्षिक संस्था, सबै प्रकारका सभा, प्रर्दशन, भेला तथा सम्मेलन, सिनेमा हल, फन पार्क, पार्टि प्यालेस, क्यासिनो, दोहिरी साँझ, जिम खाना र लामो दूरीको सवारी साधनमा रोक लगाउनुका साथै अत्यावश्यक बाहेकका अन्य सवारी साधन जिल्ला प्रवेशमा रोक लगाइएकोछ ।

यस्तै बाँके प्रशासनले केही दिनअघि मात्र बाँकेमा लगाएको जोरबिजोर प्रणाली हटाएकोछ ।

यसैगरि बाँकेमा यसअघि व्यवस्था गरिएको पसल व्यवसाय सञ्चालनको अवधि बढाएर विहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न दिने निर्णय भएको उनको भनाई छ ।

यसअघि विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म पसल व्यवसाय संचालनको अनुमति स्थानीय प्रशासनले दिएको थियो ।

जिल्लामा कोरोना भाइरस संक्रमण नियन्त्रणमा रहेपनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप १० दिन लम्ब्याएर ३१ गतेसम्म पुर्याइएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।

कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि गएको बैशाख ९ गतेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा र १३ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि हप्ताहप्तामा निषेधाज्ञा थप्दै आएको प्रशासनले आज भने १० दिन थप गरेको हो । यद्यपी निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन् ।

प्रशासनले निषेधाज्ञाका नाममा निषेधाज्ञा मात्र थप्दै जानु तर बजारमा भीड नियन्त्रण, स्वास्थ्य सम्बन्धि मापदण्ड पालना भएन नभएको अनुगमन, कडाई भने गरेको छैन ।