नेपालगन्ज २१ असार : पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस व्रिफिङ्गमार्फत दिएको जानकारी अनुसार पीसिआर मार्फत एक हजार ७ सय ४५ र एन्टीजेन परीक्षणमार्फत ८ सय ७७ जनामा गरि कुल २ हजार ६ सय २२ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ११ हजार ५ सय २७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गरिएको थियो । ७ हजार ४ सय ९९ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ४५ र ४ हजार २८ एन्टीजेन परीक्षण गर्दा ८ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सोही अवधिमा देशभर कोरोना संक्रमणका कारण थप २३ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ४८ पुगेको छ । भने २ हजार २११ जना निको भएका छन् ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ । जसमध्ये ६ लाख ११ हजार ४२९ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार २४८ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर रहेका २५ हजार ६९० सक्रिय संक्रमितमध्ये २२ हजार ९९८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ६९२ जना रहेका छन् । तीमध्ये ५७१ जनाको आईसीयू र १८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४१०, प्रदेश २ मा ४८ तथा बागमती प्रदेशमा ८५६ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा २४८, लुम्बिनीमा १४५, कर्णालीमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर थपिएका कोरोना संक्रमित संख्या जिल्ला गतरुपमा हेर्दा ५६२ जना काठमाडौं उपत्यका थपिएका छन् । जसमा काठमाडौंका ३७८, ललितपुरका १२४ र भक्तपुरका ६० जना छन् ।
यस्तै झापामा १८८, मोरङमा १२१, चितवनमा १२०, कास्कीमा ११५ र सुनसरीमा ५७ जनामा कोरोना संक्रमण देखिएको छ । मकवानपुरमा ४९, नवलपरासी पूर्वमा ४४, काभ्रेमा ३८, रुपन्देहीमा ३२, बागलुङमा ३१ र दाङमा २८ जना संक्रमित थपिएका छन् ।
यसैगरी लमजुङमा २७, गुल्मीमा २४ र नुवाकोट र धादिङमा २३÷२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।