आज सातवटै प्रदेशमा पानी पर्ने, यी नदिमा बाढी आउने


आज सातवटै प्रदेशमा पानी पर्ने, यी नदिमा बाढी आउने

नेपालगन्ज २२ असार : जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मनसुन सक्रिय रहँदा आज बिहान प्रदेश २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

विभागका अनुसार आज राति देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरि प्रदेश १ का एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको विभागले नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार आज कन्काई जलाधारका स–सना सहायक नदीहरुमा पानीको बहाव केही बढ्ने र केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

बिहानको मापनानुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज ईलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, उदयपुर, मकवानपुर, सिन्धुली, कास्की, स्याङ्जा, नवलपुर, परासी, रुपन्देही, गुल्मी, बर्दिया, डोटी, अछाम, बैतडी, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहनेछ । सबैमा बहाव सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ । यस्तै, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा पनि बहाव सामान्य रहने महाशाखाको पूर्वानुमान छ ।