नेपालगन्ज २२ असार : करिब तीन महिनाको अन्तरालमा बाँकेमा सवारी साधन गुड्न थालेकाछन् ।
नेपालगन्जका सडकमा साना तथा मझौला सार्वजनिक एवम निजी सवारी साधन गुड्न थालेका हुन् । सवारी साधन सञ्चालनमा आएपछि सर्वसाधरणको समेत भीड बढेकोछ ।
विशेषगरि नेपालगन्जदेखि कोहलपुर, खजुरा लगायतका क्षेत्रमा सवारीसाधन चलिरहेकाछन् ।
कोरोना भाइरस संक्रमणले जकडिएको बाँके जिल्लामा पछिल्ला दिन संक्रमणको दर घटेसंगै बाँके प्रशासनले निषेधाज्ञा समेत खुकुलो बनाएर लगेकोछ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज(मङ्गलबार)देखि जिल्लाभित्र सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन हुन दिने आदेश जारी गरेपछि यतिबेला नेपालगन्जको सडकमा सवारीसाधनको चाप समेत बढेकोछ ।
यसअघि गत असार १४ गतेदेखि जोर विजोर प्रणालीमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न दिइएको थियो । तर, धेरैले आदेश उल्लंघन गर्दै सबै गाडीहरु चलाइरहेका थिए ।
जिल्लामा गत बैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गरिएपछि असार १३ गतेसम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनका लागि अनुमति दिइएको थिएन ।
सोमवार रातीदेखि निषेधाज्ञा थप खुकुलो बनाउँदै सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन चल्न दिइएपछि मङ्गलबार नेपालगन्जका सडकमा धेरै गाडी गुडेका छन् ।
पसल व्यवसाय पनि विहान ९ बजेदेखि साँझ ७ बजेसम्म खोल्न दिइएको छ । सभा, सम्मेलन, गोष्ठी, विद्यालय, कलेज सञ्चालनमा भने अझै रोक लगाइएको छ ।
बाँकेमा मंगलवारदेखि निर्वाधरुपमा गाडी चल्न थालेका छन् । निषेधाज्ञा असार ३१ गतेसम्म लम्ब्याइए पनि जिल्ला प्रशासन कार्यालय बाँकेले आजदेखि जिल्लाभित्र सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन हुन दिने आदेश जारी गरेको थियो ।
प्रशासनले बाँकेमा कोरोना भाइरस संक्रमणको दर घटेपनि संक्रमणको जोखिम अझैँ हटिनसकेको भन्दै स्वास्थ्य सम्बन्धि मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरेकोछ ।