नेपालगन्जका दुई वडा बालविवाह मुक्त वडा घोषणा


नेपालगन्जका दुई वडा बालविवाह मुक्त वडा घोषणा

नेपालगन्ज २६ असार : नेपालगन्ज उपमहागनरपालिकाका दुई वटा वडा एकैपटक बालविवाह मुक्त वडा घोषणा गरिएकोछ । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १० र १२ वडालाई शनिबार एक कार्यक्रमकाबीच बाल विवाहमुक्त वडा घोषणा गरिएको हो । यसरी बाल विवाहमुक्त वडा घोषणा हुने वडा नगरमै पहिलो बनेकाछन् ।

नेपालगन्ज उपमहानगरपालिकाको बाल अधिकार समितिले आवश्यक मापदण्ड पूरा गरेपछि यी दुई वडालाई बाल विवाहमुक्त घोषणा गर्न स्विकृति दिएको हो । २० प्रतिशत भन्दा कम बालविवाह भएको वडालाई बाल विवाहमुक्त वडा घोषणा गर्न सकिने निर्देशिका बमोजिम १० र १२ नम्बर वडालाई बाल विवाहमुक्त वडा घोषणा गरिएको हो ।

उपमहानगरको बाल अधिकार समिति संयोजक उपमेयर उमा थापा मगरले वडा नम्बर १० र १२ का वडा अध्यक्षलाई घोषणा–पत्र प्रदान गरेपछि वडाअध्यक्षद्वय विन्दुभुषण बस्नेत र बुद्धिसागर सुवेदीले वडालाई बाल विवाहमुक्त भएको घोषणा गरे ।

सोक्रममा वडाको सर्वेक्षण प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । सामाजिक सरोकार सचेतन मञ्च (स्याक नेपाल)का बालविवाह रोकथाम परियोजना प्रमुख जगदिश थापाले वडा नम्बर १० र पत्रकार शंकर खनालले १२ नम्बर वडाको सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

उनीहरुका अनुसार वडा नम्बर १० मा १०.७१ र वडा नम्बर १२ मा १२.२८ प्रतिशत बालविवाह छ । जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा सम्पन्न बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा बालविवाह मुक्त वडा घोषणाका लागि योगदान दिने विभिन्न कार्यालय, संघसंस्था तथा व्यक्तिहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

घोषणासभामा बोल्ने वक्ताहरुले बालविवाह समाजको कलंक भएकाले यसको अन्त्यका लागि सबैले हातेमालो गरेर सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

नगरका दुई वटा वडा बाल विवाहमुक्त घोषणा गरेर सुखद् सुरुवात भएको बताउँदै उनीहरुले बालविवाह विरुद्धको अभियानलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले घोषणा गरिएका वडामा प्रभावकारी कार्यान्वयन र अनुगमनको खाँचो पनि औंल्याइएको थियो ।

घोषणासभामा प्रमुख अतिथि श्रीवास्तव, उपमेयर थापा मगर, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, वडाअध्यक्षद्वय विन्दुभुषण बस्नेत र बुद्धिसागर सुवेदी, जिल्ला बाल क्लब सञ्जाल बाँकेकी अध्यक्ष मेनुका रावत, बाल क्लब सञ्जाल वडा नम्बर १० का अध्यक्ष आदित्यसिंह थापा, वडा नम्बर १२ का अध्यक्ष मनिषा ओली लगायतले आफ्ना विचार राखेका थिए ।