नेपालगन्ज ३० असार : चालु आर्थिक वर्षमा बाँकेका ५ जनामा डेंगु भेटिएकोछ ।
नेपालगन्ज उपमहानगरपालिकाले बुधवार डेंगु तथा अन्य किटजन्य रोग रोकथाम तथा लामखुट्टेको लार्भा नष्ट सम्बन्धि आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा चालू आर्थिक वर्षको हालसम्म जिल्लामा पाँच जनामा डेंगु संक्रमण देखिएको जानकारी दिइएको हो ।
नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एउटा ग्यारेजमा काम गर्ने मजदुर र पाहुनामा डेंगु देखा परेको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन रत्नलाल शर्माले बताए ।
उनका अनुसार, आर्थिक वर्ष २०७६/७७ मा ९१ जनामा डेंगु देखिएको थियो भने ०७५÷७६ मा २४ जनामा डेंगुका बिरामी फेला परेका थिए ।
सन् २००६ मा बाँकेमा पहिलो पटक डेंगुका बिरामी फेला परेका थिए । डेंगु, मलेरिया, चिकनगुन्या, कालाजार, स्क्रव टाइफसलगायतका किटजन्य रोगका कारण बाँके पनि उच्च जोखिममा छ ।