जुम्लाको तिला गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषित


जुम्लाको तिला गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषित

जुम्ला ३१ असारः जुम्लाको तिला गाउँपालिकाले पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको छ । गाउँपालिकाको नौवटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।

उनले भने, ‘तिला गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरुको अथक मेहनतले पालिकालाई पूर्ण खोप घोषणा गर्न सफल भएका छौँ । पालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। शिक्षा र स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई निरन्तरताको खाँचो छ । गाउँपालिकाभित्रका बालबालिका खोपबाट वञ्चित हुने छैनन् ।’

पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष योगीले बताए । उनका अनुसार घरघरमा पुगेर ज्येष्ठ नागरिकको र बालबालिकाको स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । भौगोलिक विकटता भएकाले पालिकाभित्र जम्मा पाँचवटा स्वास्थ्य चौकी मात्र रहेका छन् ।

महिलाहरु घरायसी काममा व्यस्त हुने हुँदा यसअघि बालबालिका खोप लगाउन छुट्ने गरेका थिए । अहिले पालिकामा चारवटा आधारभूत स्वास्थ्य केन्द्र र तीनवटा स्वास्थ्य एकाइ स्थापना हुँदा खोपबाट वञ्चित हुनु नपरेको गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

‘गाउँघरका चिकित्सक मानिने महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका खेलेका छन् । आगामी दिनमा पनि पालिकाका कुनै पनि बालबालिका खोपबाट वञ्चित हुने छैनन्’, बुढाले भने । उनले स्वास्थ्य शाखाका जनशक्तिहरु परिचालन गरेर पूर्ण खोप सुनिश्चितता घोषणा गरेको बताए ।

खोप पाउनु नैसर्गिक अधिकार भएकाले जिल्लालाई नै पूर्ण खोप घोषणा गर्ने तयारी भएको जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताए। कोरोनाको महामारीका बेला समेत खोप रोकिएको छैन । यहाँको पातारासी गाउँपालिका मात्र पूर्ण खोप सुनिश्चित पालिका घोषणा हुन बाँकी रहेको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

यहाँका आठ स्थानीय तहमध्ये छ पालिका यसअघि नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् । तिला र पातारासी गाउँपालिका घोषणा हुन सकेका थिएनन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयानुसार वडास्तरदेखि पालिका प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने परिपत्रअनुसार यहाँका सात स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । -रासस