बालविवाहमुक्त वडा घोषणा कार्यक्रमका सहभागिहरु । तस्विर: पुजा वैश्य /सेतोखरी
नेपालगन्ज ३१ असार : नेपालगन्ज उपमहानगरपालिकाका थप २ वटा वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र २ वडालाई बिहीबार एक कार्यक्रमका बीच बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाको बाल अधिकार समितिले आवश्यक मापदण्ड पूरा गरेपछि यी दुई वडालाई बाल विवाहमुक्त घोषणा गर्न स्विकृति दिएको हो । २० प्रतिशत भन्दा कम बालविवाह भएको वडालाई बाल विवाहमुक्त वडा घोषणा गर्न सकिने निर्देशिका बमोजिम १ र २ नम्बर वडालाई बाल विवाहमुक्त वडा घोषणा गरिएको हो ।
यसअघि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० र १२ वडालाई उपमहानगरमै पहिलोपटक बालविवाह मुक्त वडा घोषणा गरिएको थियो ।

उपमहानगरको बाल अधिकार समिति संयोजक उपमेयर उमा थापा मगरले वडा नम्बर १ र २ का वडा अध्यक्षलाई घोषणा–पत्र प्रदान गरेपछि वडाअध्यक्षद्वय प्रमोद रिजाल र सुनिल सिंह हमालले वडालाई बाल विवाहमुक्त भएको घोषणा गरे ।
सोक्रममा वडाको सर्वेक्षण प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । सामाजिक सरोकार सचेतन मञ्च (स्याक नेपाल)का बालविवाह रोकथाम परियोजना प्रमुख जगदिश थापा र पत्रकार शंकर खनालले वडाको सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनीहरुका अनुसार वडा नम्बर १ मा १३.५५ र वडा नम्बर २ मा १३.७१ प्रतिशत बालविवाह छ । २०६८ सालको जनगणना अनुसार बाँकेमा ६६.०८ प्रतिशत बालविाह रहेकोछ ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणा, उपमेयर उमाथापा मगर र वडाअध्यक्षद्वय प्रमोद रिजाल र सुनिल सिंह हमालले वडालाई बालविवाह मुक्त वडा घोषणा सम्बन्धिको घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा सम्पन्न बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा बालविवाह मुक्त वडा घोषणाका लागि योगदान दिने विभिन्न कार्यालय, संघसंस्था तथा व्यक्तिहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

घोषणासभामा बोल्ने वक्ताहरुले बालविवाह समाजको कलंक भएकाले यसको अन्त्यका लागि सबैले हातेमालो गरेर सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।
बालविवाह विरुद्धको अभियानलाई अझ सशक्त बनाउनुपर्नेमा उनीहरुले जोड दिएका थिए । उनीहरुले घोषणा गरिएका वडामा प्रभावकारी कार्यान्वयन र अनुगमनको खाँचो पनि औंल्याएका थिए ।
बालविवाह अझैं रोकिएको छैन । यसको प्रकृतिमा परिर्वतन आएकोछ । जनचेतनाको कमी, जातीय विभेद, आर्थिक अभाव, बेरोजगारी, सामाजिक परम्परा, अशिक्षा, धर्म र संस्कार, पुरानो रितिरिवाज लगायतका कारण बालविवाह हुँदै आएकोछ ।
अझ पछिल्लो समय त पारिवारिक दवाव, कानूनको अज्ञानता, साथीहरुको देखासिकी, समाजिक सञ्जाल र मोबाइलको दुरुपयोग लगायतबाट बालविवाहको घटना बढ्दो छ ।