नेपालगन्ज ५ साउन : आगामी साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मङ्गलबार बसेको बैठकले आगामी ३१ साउनदेखि कक्षा १२ को परीक्षा गर्ने भएको हो ।
बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय भएकोछ । विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णीमाको दिन विदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने तयारी गरिएको छ ।
गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।
यसैबीच, माध्यामिक तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले यो पटक १०० पूर्णांककै गराउने तयारी गरेको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णांककै परीक्षा गराउने तयारी गरेको बोर्डले जनाएको छ ।
बोर्डले गतवर्ष परीक्षा समय र अंक भार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो ।
यतिबेला देशभर कोरोना भाइरस संक्रमणका कारण निषेधाज्ञा जारी गरिएकोछ । कतिपय जिल्लामा कोरोना भाइरस संक्रमणको संख्या दिनहुँ बृद्धि भइरहेकोछ ।
कोरोना भाइरस संक्रमण फैलिएसंगै पटक–पटक स्थगित भएको कक्षा १२ को परीक्षा हुने भएपछि यतिबेला विद्यार्थीलाई परीक्षामा सम्मलित हुनका लागि स्वास्थ्य सम्बन्धि मापदण्ड लगायतका कुरामा ध्यान पु¥याउन आवश्यक रहेकोछ ।