चितवन ७ साउन : चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया शुरु गरेको छ । विगत केही वर्षअघि मुटुको शल्यक्रिया शुरु गरेको कलेजले केही समय बन्द गरेको थियो । सेवा शुरु गरेसँगै कलेजले एउटा शल्यक्रियासमेत गरेको छ ।
अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राचार्य डाक्टर हरिश्चन्द्र न्यौपानेका अनुसार अब कलेजमा नियमित शल्यक्रिया हुनेछ । यस विभागको नेतृत्व प्राचार्य डाक्टर अनिल आचार्यले गरेका छन् । दश वर्ष काठमाडौँको गङ्गालाल हृदयरोग केन्द्र र तीन वर्ष मेडिसिटी हस्पिटलमा काम गरिसकेका आचार्यको नेतृत्वमा यस कलेजमा सेवा शुरु गरिएको हो ।
आचार्यसँगै कार्डियक सर्जन डाक्टर अल्का सिंहसहितको टोली रहेको छ। टोलीले सोही अस्पतालमा कार्यरत स्टाफ नर्सको मुटुको शल्यक्रिया गरेको हो। आचार्यले भने, ‘मुटुको चार कोठामध्ये माथिको दुई कोठाको बीचमा प्वाल परेको थियो ।’ जन्मजात यो समस्या भएकी २४ वर्षीया युवतीको सफल शल्यक्रिया गरिएको हो । अस्पतालमा शल्यक्रियाका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण र पर्याप्त जनशक्ति भएकाले नियमित यो सेवा दिन सकिने उनको भनाइ छ । उनले भने, ’हामी यहाँ गङ्गालालमा हुने खर्चमा मुटुका सबै खाले शल्यक्रिया गर्न सक्छौं ।’
यो सेवा राजधानी केन्द्रीत भएपछि मोफसलमा सेवा दिनका लागि आफूले राजधानी छाडेको भन्दै उनले अब मुटुको शल्यक्रियाका लागि राजधानी पुगेर पालो कुर्न नपर्ने बताए । उनले भने, ’सरकारी अस्पतालमा हुने खर्चमा त्यही सरहको सेवा पालो कुर्न नपरी दिन सक्छौं ।’ मोफसलमा यस विषयमा बुझाउन केही समय लाग्ने भन्दै उनले सरकारले दिने एक लाखको असहाय उपचार सहयोग र स्वास्थ्य बीमाको सेवा पनि यहाँ पाइने जानकारी दिए ।
सरकारले काठमाडौंको गङ्गालाल र मनमोहन अस्पतालमा १४ वर्ष मुनि र ७५ वर्ष माथिकालाई मुटुको बाथरोगको शल्यक्रिया गर्दा निःशुल्क गरेको भन्दै प्राडा आचार्यले भने, ‘यो सुविधा मोफसलका अस्पताललाई पनि दिनुपर्छ ।’ मुटुको उपचार राजधानीमा मात्रै केन्द्रीत रहेको बताउँदै उनले भने, ‘म सेवा विकेन्द्रित गर्न चितवन आएको हुँ ।’
काठमाडौँंका स्थायी बासिन्दा डाक्टर आचार्यले आफ्नो श्रीमतीको जागिर छुटाएर त्यहाँको भन्दा कम सुविधा लिएर यहाँ आएको बताए। उनले भने, ‘मैले मुटु रोगको सेवा मोफसलमा पनि विस्तार गर्नुपर्छ भन्ने सोचले यहाँ आएको हुँ ।’ राजधानीमा मुटुको शल्यक्रियाका लागि लामो पालो कुर्नुपर्ने बाध्यता रहेको बताउँदै उनले भने, ‘चितवनमा यो सेवा नियमित पाउँदा धेरै बिरामीले कम खर्चमा आफ्नै घर नजिकै उपचार पाउँछन् ।’
प्राडा आचार्यको समूहले गङ्गालालमा तीन हजारभन्दा बढी मुटुको शल्यक्रिया गरिसकेको छ। यसैगरी मेडिसिटी अस्पतालमा प्रमुख कन्सल्टेन्टको रुपमा उनले तीन वर्ष काम गरेका छन् । उनले बङ्गलादेशबाट एमबिबिएस र एमडिपछि सिङ्गापुरबाट फेलोसिप गरेका हुन् ।
अस्पतालका अध्यक्ष न्यौपानेले यहाँ मुटुसम्बन्धी सबै खालको उपचार हुने बताए। अस्पतालमा कार्डियोलोजिसम्बन्धी प्राचार्य डाक्टर श्यामराज रेग्मीसहितको टोलीले उपचार गर्ने उनले जानकारी दिए । उनले भने, ‘मुटुसम्बन्धी उपचारका लागि अब राजधानी र विदेश जानु पर्दैन ।’ राजधानी गएर पनि उपचार गर्ने चिकित्सक र आवश्यक उपकरण यही व्यवस्थापन भएकाले राजधानी जान नपर्ने उनको भनाइ छ । अध्यक्ष न्यौपानेले भने, ‘काठमाडौँबाट पनि हामीकहाँ बिरामी आउन थालेका छन्। बाहिरबाट काठमाडौँ गएकाले पनि भरतपुर ठीक छ भनेर आउने गरेका छन् ।’
अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले अस्पतालले सेवा विस्तार गर्दै आएको बताए । मुटुसँगै कलेजो प्रत्यारोपण, न्यूरो सर्जरीजस्ता जटिल उपचार सेवा पनि अस्पतालबाट दिइँदै आएको उनले बताए। छिट्टै मिर्गाैला प्रत्यारोपण सेवा पनि शुरु गर्न लागिएको उनले जानकारी दिए । राजधानीका अस्पतालमा लामो अनुभव लिएका विज्ञ चिकित्सक यहाँ आएसँगै जटिल किसिमका उपचार सहज बनेको उनको भनाइ छ । -रासस
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?