भारतीय पेप्सीका पेय पदार्थ नेपालगन्जमा तस्करी


भारतीय पेप्सीका पेय पदार्थ नेपालगन्जमा तस्करी

भारतीय बजार रुपैडिहाबाट अबैधरुपमा ल्याउदैं गरेको पेय पदार्थ । तस्विर : दामोदर भण्डारी /सेतोखरी

नेपालगन्ज ८ साउन : बाँके प्रशासनले भारतबाट पेय पदार्थ आयातमा रोक लगाएपनि भारतीय बजार रुपैडिहाबाट दिनहुँ ठूलोमात्रामा पेय पदार्थ नेपालगन्ज तस्करी हुने गरेकोछ ।

गत चैत १९ गतेदेखी बाँके प्रशासनले भारतबाट पेय पदार्थ आयातमा रोक लगाएको छ । तर, यसको प्रभावकारी कार्यान्वयन नहुँदा खुलेयाम पेय पदार्थ तस्करी हुने गरेकोछ । भारतीय बजार रुपैडिहाबाट दिनहुँ ठूलो मात्रामा पेय पदार्थ नेपालगन्ज तस्करी हुन थालेपछि यहाँका ब्यवसायी मारमा परेकाछन् । प्रहरी र प्रशासनले यसमा रोक लगाउन सकेको छैन ।

सीमावर्ती भारतीय बजारमा किनमेल गर्न गएका नेपालीहरु फर्किदा पेय पदार्थ बोकेर आउने गर्छन् । यसरी उनीहरुले बोकेर ल्याएको पेय पदार्थ नेपालगन्जका पसलमा बेच्ने गरेकाछन् ।

उताबाट सस्तोमा ल्याउने र यता महंगोमा बेच्दा राम्रो रकम पाएपछि दिनहुँ क्यारिङ्ग गर्नेहरुको भीड समेत लाग्ने गरेकोछ । भारतीय बजार रुपैडिहाबाट विशेषगरि डिउ तस्करी हुने गरेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

कतिपयले घरेलु प्रयोजनका लागि भनेर ल्याउने र नेपालगन्जका पसलमा बेच्ने गरेकाछन् । कोरोना भाइरस संक्रमणकै बीच पछिल्लो पटक सीमानाका केही खुकुलो भएसंगै तस्करी समेत बढेर आएकोछ ।

एउटैले एकैदिन ८–१० पटक तस्करी गरिरहेका हुन्छन् । यसरी तस्करी गरेको पेय पदार्थ एक ठाउँमा भण्डार गरि राख्ने र नेपालगन्जका पसलमा महांगोमा बेचिन्छ ।
भारतबाट तस्रकी गरि ल्याइएक पेय पदार्थ नेपालगन्ज बजारमा छ्यापछ्याप्ती पाइन्छ । यी पेय पदार्थ गुणस्तरहीनसंगै कतिपयको म्याद समेत सकिएको हुन्छ ।

यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले भारतीय बजार रुपैडिहाबाट पेय पदार्थ ल्याउन रोक लगाउने बताए ।

तस्करी नियन्त्रणमा प्रहरी क्रियाशिल रहेको भन्दै यस विषयमा थप गम्भीर भएर लाग्ने र क्यारिङ्ग तथा तस्करी गर्नेलाई पहिचान गरि कारबाही अगाडी बढाइने उनले बताए ।
सेतोखरीसंग कुरा गर्दै प्रहरी नायब उपरीक्षक न्यौपानेले भने –‘कतिपयले घरेलु प्रयोजनका लागि भनेर एकदुई बोतल बोकेर ल्याउँदा कडाई गर्नसमेत ब्यवहारिक हुदैन । त्यसो गरे अपजस आइहाल्छ ।’

उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतमले प्रभावकारीरुपमा बजार अनुगमन हुननसक्दा यस्तो समस्या भएको बताए । उनले भने–‘बाँके प्रशासनले भारतीय बजारबाट पेय पदार्थ आयातमा रोक लगाएपनि यसको प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेन । सम्बद्ध सरोकारवाला नै गैरजिम्मेवार बन्दा यस्तो समस्या आएको हो ।’

सेतोखरीसंग कुरा गर्दै उनले अगाडी भने–‘कोरोना महामारीकैबीच भारतीय बजारबाट लुकीछिपी सामान ल्याउनु कोरोना संक्रमण फैलाउन मद्त गर्नु हो । यसमा कडाई गरिनुपर्छ । बजार अनुगमन गरि दोषी पाइएकालाई कारबाही गरिनुपर्छ ।’

नेपालको पेप्सी कम्पनीका नेपालगन्जस्थित आधिकारिक विक्रेता मधु दाहालले भारतीय पेप्सीका पेय पदार्थ नेपालगन्जमा तस्करीले आफूहरु हैरान भएको बताए ।

‘विशेषगरि जम्बो बोतलमा डिउ रुपैडिहाबाट नेपालगन्ज तस्करी भइरहेको देखिन्छ ।’ दाहालले भने –‘क्यारिङ्ग गर्नेहरुले एक दिनमा १० खेपसम्म तस्करी गरेर ल्याउँछन्, र नेपालगन्जका पसलपसलमा बेच्छन् । कतिपय त डेट एक्सपायर भइसकेको हुन्छ ।’

प्रहरी प्रशासनले तस्करीलाई रोक्नुपर्ने दाहाल बताउँछन् । उनले भारतबाट पेप्सी लगायतका पेय पदार्थ भन्सार तिरेर पनि नेपाल भित्र्याउन नपाउने कानूनी प्रावधान रहेको बताए ।