नेपालगन्ज : बाँकेका स्वास्थ्यकर्मीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ज्ञापनपत्र बुझाएका छन् । नेपालगन्ज आएका मन्त्री पण्डितलाई भेटेरै उनीहरूले बिहीबार उक्त ज्ञापनपत्र बुझाएका हुन् । सरकारले यसअघि निर्णय गरी तहदेखि केन्द्रसम्म कर्मचारी समायोजन गरेको बेला भेरी अस्पताल प्रादेशिक संरचनामा रहेको थियो ।
त्यसअवस्थामा फाराम भरेका स्वास्थ्यकर्मीमा अहिले अस्पताल संघीय संरचनामा गाभिएपछि अन्यौलता छाएकोले उक्त समायोजन हेरफेर गरी अस्पतालका स्वास्थ्यकर्मीलाई भेरी संघीय अस्पतालमै मिलान गरिदिन उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
निजामति कर्मचारी आधिकारिक ट्रेड युनियन र भेरी अस्पतालका स्वास्थ्यकर्मीको संयुक्त रूपमा यूनियनका केन्द्रीय उपाध्यक्ष रामबहादुर चन्दले बुझाएको उक्त ज्ञापनपत्रमा यसअघि कर्मचारी समायोजनका लागि संकलन गरिएका तथ्याकं उपर मन्त्रीको गम्भीर ध्यानाकर्षण गराईएको छ ।
स्वास्थ्यकर्मी र कर्मचारीलाई संघीय संरचनामा समायोजन गरी काम गर्ने वातावरण मिलाईदिन पनि उक्त ज्ञापनपत्र मार्फत जोड्दार आग्रह गरिएको छ । ज्ञापनपत्र मार्फत स्वास्थ्य जस्तो क्षेत्रमा कर्मचारी समायोजन गर्दा यसका दुरगामी असरका बिषयमा पनि ध्यानाकर्षण गराईएको उपाध्यक्ष चन्दले बताए ।