नेपालगन्ज : अञ्चलबाट प्रदेश हुँदै अहिले सघीयमा संरचनामा गएको नेपालगन्जको भेरी अस्पतालमा शौचालयको उचित व्यवस्थापन हुन सकेको छैन । शौचालय फोहोर हुँदा बिरामी तथा बिरामीका आफन्तहरु शौचालय बाहिरै दिसापिसाब गर्न बाध्य भएका छन् । दिसा भरिएर ‘ट्वाइलेट प्यान’ माथि नै आएपनि अस्पताल प्रशासनले शौचालयको सफा सुग्घर राख्न कुनै चासो देखाएको छैन् ।
सरकारी अस्पतालको शौचालयको यस्तो दुरावस्था हुँदा अस्पताल प्रशासनले यसको सुधारमा ध्यान दिन नसकेको विरामी बताउँछन् ।
शौचालयमा शौच गर्न गएका नौवस्ताका नहकुल थापाले यसअघि शौचालयमै वान्ता गरेका थिए । दिसा चेकजाँचका लागि सिसी लिएर शौचालयमा गएका उनी शौचालय फोहर र दिसा बाहिरै भएका कारण वान्ता भएको बताउँछन् ।
‘बिरामी भएर औषधी गर्न आएको हुँ’, उनले भनेका थिए ‘यस्तै हो भने अरू रोग पो सर्न सक्ने हो की भनेर चिन्ता लाग्न थाल्यो ।’ हजारौं बिरामीहरु उपचार गर्ने अस्पतालमा शौचालयको उचित व्यवस्थापन हुन नसक्नु गम्भीर विषय भएको कारकाँदोकी स्थानीय स्मृति डिसी बताउँछिन् ।
उपचारका लागि आउने यस अस्पतालमा धेरै दिनसम्म बस्ने हुँदा बिरामीका लागि दिसा पिसाब गर्न अप्ठ्यारो भएको सुर्खेतबाट
उपचारका लागि विरामी ल्याएर आएका दुर्गबहादुर थापा बताउँछन्। गर्मी बढेसँगै बाँके लगायत तराईका जिल्लामा रूघा, ज्वरो, टाइफाइड जस्ता रोगका विरामी बढेका छन् । अधिकाशं विरामीको उपचार गर्ने थलो पनि भेरी अस्पताल नै हो । बिहीबार मात्रै पनि अस्पतालको शौचालय एकदमै दुर्गन्धित भएको नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ बताउँछन् ।
अस्पतालको आकस्मिक कक्ष नजिकैको शौचालय दुर्गन्धित भएको भन्दै उनले अस्पताल प्रशासनको ध्यानाकर्षण समेत गराएका छन् ।
अस्पतालमा सरसफाईका शिर्षकमा ठूलो करम आउने गर्छ । तर अस्पताल प्रशासनको उदासिनता र लापरवाहीले शौचालय समेत
सरसफाई हुँदैनन् उनले भने ‘यस्तो अवस्थाले त निरोगी पनि विरामी बन्छ ।’
उता अस्पताल प्रशासनले भने प्रत्येक दिन सफा गरे पनि बिरामीको मनोमानीले गर्दा शौचालय फोहोर बन्ने गरेको उल्टो आरोप लगाउँदै आएको छ । बिरामीहरु शौचालय बाहिरै दिसापिसाब गर्ने हुँदा सरसफाईमा समस्या आएको अस्पताल प्रशासन स्रोत बताउँछ । तर, शौचालय अवस्था हेर्दा अस्पताल प्रशासनले दैनिक सफा गरेजस्तो देखिँदैन ।
यसैबिच गरिब, असहाय, ज्येष्ठ नागरिकका लागि स्थापना गरिएको सामाजिक सेवा एकाइबाट राम्रो सेवा नपाएको सेवाग्राहीको गुनासो छ । सम्पूर्ण कागज पूरा गरेर जाँदा समेत उक्त एकाइमा कार्यरत कर्मचारीले बेवास्ता गरेको सेवाग्राही मुना शाहीले गुनासो गरिन् । उनले सामाजिक सेवा एकाइले औषधी, एक्सरे र प्याथालोजी सेवासमेत बाहिरबाट लिन लगाउने गरेको बताइन् । सामाजिक सेवा एकाइका कर्मचारीले बिरामीसँग राम्रो व्यवहार नगरेको उनको भनाइ छ । उनले भनिन, ‘राम्रोसँग सोध्दा समेत झर्केर बोल्छन् ।’