‘कोभिड हिरो’ नरेशबाबु श्रेष्ठसहित तीन जनालाई सेनाको सम्मान


‘कोभिड हिरो’ नरेशबाबु श्रेष्ठसहित तीन जनालाई सेनाको सम्मान

नेपालगन्ज २० साउन : उत्तर पश्चिम पृतना हेड क्वाटर, निमारे ब्यारेक सुर्खेतले भैरब प्रसाद गणको १६४ औं बार्षिक उत्सवको अवसर पारेर ‘कोभिड हिरो’ नरेशबाबु श्रेष्ठसहित तीन जनालाई सम्मान गरेकोछ ।

निश्वार्थ भावले समाज सेवामा उत्कृष्ट सेवा गरेको भन्दै बाँके र बर्दियाका ३ जना राष्ट्र सेवकलाई कदरपत्र सहित सम्मान गरिएको हो ।

सेनाको सम्मानबाट सम्मानित हुनेमा स्वास्थ्य कार्यालय बर्दियाका जन स्वास्थ्य अधिकृत तथा हाल कोभिड–१९ महामारी नियन्त्रणमा बाँके जिल्लामा कार्यरत नरेशबावु श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकर तथा शिक्षा क्षेत्रमा रही लामो समयदेखि सामाजिक सेवामा कार्यरत माधबी शाह रहेकाछन् ।

एक कार्यक्रमकाबीच सम्मानित हुने तीनै जनालाई उत्तर पश्चिम पृतना हेड क्वाटर, निमारे ब्यारेक सुर्खेतका पृतनापति विज्ञानदेव पाण्डेले सममान प्रदान गरेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

जन स्वास्थ्य अधिकृत नरेश बावु श्रेष्ठले स्वास्थ्य क्षेत्रमा विगत २५ वर्षदेखि देशका ७ भन्दा बढि दुर्गम जिल्लामा स्वास्थ्य सेवा प्रदान गरेका छन् । भने कोभिड–१९ महामारीमा बाँके र बर्दियामा रही कोभिड–१९ संक्रमित विरामीको व्यवस्थापन, उपचार प्रेषण र शव व्यवस्थापनमा समन्वयात्मक ढंगले उत्कृष्ट सेवा प्रदान गर्दै आएका छन् ।

यस्तै प्रशासकीय अधिकृत रामकुमार सोनकरले लामो समय बाँके जिल्लाको जिल्ला प्रशासन कार्यालयमा रही सेवाग्राहीमैत्री सेवा प्रदान गरिरहेका छन् ।

त्यस्तै शिक्षण सेवामा रहेकी माधबी शाहले आफ्नो शिक्षण सेवाका अतिरिक्त सामाजिक सेवाका बिभिन्न क्षेत्रमा रही बाँके जिल्लाका जनताको सेवामा जुटिरहेकी छिन् ।

उनीहरुले प्राप्त गरेको कदरपत्रमा भनिएको छ ‘तपाईको ब्यक्तीगत समर्पण, ज्ञान र अनुकरणीय प्रयासले आफ्नो तहबाट विभिन्न क्षेत्रमा पुर्याउनु भएको अतुलनिय योगदान तथा नेपाली जनता र नेपाली सेनाबीच प्रगाढ सम्बन्ध राख्न खेल्नु भएको भुमिकाको उच्च मुल्यांकन गर्दछु । तपाई जस्तो नेपाली सेनाप्रति सदैव सकारात्मक धारणा राख्ने ब्यक्तीत्वको सम्मानले सैनिक नागरिक सम्बन्धमा भविश्यमा थप टेवा पुर्याउन दिशानिर्देश गर्नेछ ।’

भैरव प्रसाद गण, राँझाको सभाहलमा सम्पन्न सो कार्यक्रममा नेपाली सेनाका सकलदर्जाका विशिष्ट ब्यक्तीत्वहरु, पृतनापति, गणपती, बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्लाअधिकारी लगाएत सुरक्षा प्रमुखहरु, अस्पताल प्रमुख तथा सामाजिक क्षेत्रमा काम गर्ने विशिष्ट व्यक्तीत्वहरुको उपस्थिति रहेको थियो ।