नेपालगन्ज २४ साउनः सरकारले भोलीदेखि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाउदैछ । सरकारले जापान र भुटानले उपलब्ध गराएकोे खोप एस्ट्राजेनका लगाउने तयारी गरेको हो ।
कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई साउन २५ गतेदेखि खोप दिइनेछ । खोप उपलब्धता अनुसार क्रमशः वितरण गर्ने उक्त खोप अभियान प्रदेश १ र २ मा सुरु हुन भने केही दिन ढिलो हुनेछ ।
गत फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजार भन्दा बढी जेष्ठ नागरिकले भारतको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड नामक खोपको पहिलो डोज लगाएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो डोज १२ हप्तापछि लगाउनुपर्ने बताएपनि खरिद सम्झौता भएकोमध्ये १० लाख डोज खोप भारतले नदिएपछि उनीहरु दोस्रो डोज लगाउनबाट वञ्चित भएका थिए ।
सरकारले दोस्रो डोज लगाउन बाँकी ६५ वर्ष माथिका करिब १३ लाख ३८ हजार जनालाई खोप लगाउने भएकोछ ।
भुटानले शुक्रबार बिहान ३ लाख डोज खोप पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित गरेपछि पहिलो खेपमा हिजो शनिबार पाँच लाख १३ हजार ४२० डोज खोप नेपाल आइपुगेको छ ।
यस्तै आज जापानबाट ३ लाख ३१ हजार डोज एस्ट्राजेनेका खोप नेपाल आउँदै छ । बाँकी खोप आगामी साता आउने बताइएको छ ।