कोरोनाको दोस्रो लहरमा देशमै सबैभन्दा बढि भेरी अस्पतालमा संक्रमितले ज्यान गुमाए

अस्पतालसम्म पुग्नै नपाई ६३२ जना मरे, ७१ जनाको परिचय खुलेन


कोरोनाको दोस्रो लहरमा देशमै सबैभन्दा बढि भेरी अस्पतालमा संक्रमितले ज्यान गुमाए

नेपालगन्ज २४ साउन : कोरोना महामारीको दोस्रो लहरमा देशमै सबैभन्दा बढि कोरोना संक्रमितको मृत्यु बाँकेमा भएको पाइएकोछ ।

कोरोना भाइरस महामारी सुरु भएयता गएको असार १ गतेसम्मको अवधिमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको तथ्यांक विश्लेषण गर्दा यस्तो पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत असार १ गतेसम्मको तथ्यांक अनुसार देशभर कुल आठ हजार ५०६ जनाले ज्यान गुमाएका थिए ।

जसमध्ये सात हजार ८७४ जना कोरोना संक्रमितको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । घरमा ४२८, अस्पताल लैजाँदै गर्दा बाटोमा ५७ र आइसोलेसन सेन्टरमा ४४ जनाको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै, जेल, क्वारेन्टिन, विद्यालय, पार्क, आश्रम लगायत विभिन्न ठाउँमा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाएकोछ । मन्त्रालयले राखेको तथ्यांकमा कोरोना संक्रमणबाट मृत्यु भएका ७१ जनाको कहाँ मृत्यु भएको भन्ने खुलेको छैन ।

अस्पतालहरुमा भएको मृत्युमध्ये ५७ प्रतिशतको काठमाडौं उपत्यका बाहिरका अस्पताल तथा स्वास्थ्य संस्थामा ज्यान गुमाएका छन् । बाँकी ४३ प्रतिशत संक्रमितको उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा मृत्यु भएको छ ।

सबैभन्दा धेरै बाँकेको भेरी अस्पतालमा मृत्यु भएको देखिएको छ । यो अवधिमा कोरोना संक्रमणबाट ज्यान गुमाउने कुल संख्या मध्ये भेरीमा मात्रै ५३१ संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पतालपछि क्रमशः काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ४३२, ललितपुरको पाटन अस्पतालमा ३२६, चितवनको चितवन मेडिकल कलेजमा ३१७, विराटनगरको नोबेल मेडिकल कलेजमा २८१, रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा २५४, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २४४, काठमाडौंको वीरेन्द्र सैनिक अस्पताल २३९, कैलालीको सेती प्रादेशिक अस्पतालमा १८८ जनाको मृत्यु भएको छ ।

अस्पतालसम्म पुग्नै नपाई ६३२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार(हिजो) थप १९ संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ३८ पुगेको छ ।

यस्तै शनिबार देशभर थप ३ हजार २१८ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ८ हजार ८६६ पीसीआर र ४ हजार ७०७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ७ लाख १२ हजार ७४० पुगेको छ । भने कुल संक्रमितमध्ये ३५ हजार ४३२ जना सक्रिय संक्रमित छन् ।