अक्सिजन प्लान्टको तीन करोड फ्रिज


अक्सिजन प्लान्टको तीन करोड फ्रिज

झापा २८ साउन : झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आएको रु तीन करोड रकम फ्रिज भएको छ । कोरोना भाइरस सङ्क्रमितको उपचार र अक्सिजन आपूर्तिमा सहजता ल्याउने उद्देश्यले अक्सिजन प्लान्ट स्थापनार्थ अस्पताललाई सङ्घीय सरकारले उपलब्ध गराएको उक्त रकम फ्रिज भएको हो ।

आइसियु, भेन्टिलेटर, अक्सिजन प्लान्ट स्थापनालगायतका लागि सङ्घीय सरकारबाट आएको रु नौ करोडमध्ये अक्सिजन प्लान्टका लागि आएको रकम फ्रिज भएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए । मेची अस्पतालमा सङ्घीय सरकारले १५० सिलिण्डर क्षमताको अक्सिजन प्लान्टका लागि रकम पठाएको थियो ।

‘जेठ अन्तिममा रकम आयो’, उनले भने, ‘१५ दिने म्याद राखेर बोलपत्र आह्वान ग¥यौँ, एउटा फर्मले बोलपत्र हाल्यो, त्यसमा पनि काम सम्पन्न गर्न ढेडदेखि दुई महिना लाग्ने बताएपछि काम गर्न सकिएन ।’

यता प्रदेश नम्बर– १ सरकारले अस्पताललाई उपलब्ध गराएको ३५ सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट पनि सञ्चालनमा आउन सकेको छैन । अस्पतालमा जडान गरिएको विद्युत् ट्रान्समिटर कम क्षमता भएकाले अक्सिजन प्लान्ट सञ्चालनमा आउन नसकेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

हाल अस्पतालमा ५० केभिए क्षमताको विद्युत् ट्रान्समिटर छ । अस्पतालको पुरानो र नयाँ सबै भवनमा पुग्ने गरी ३०० केभिएको ट्रान्समिटर जडान गर्न लागिएको सूचना अधिकारी पोखरेलले बताए । नेपाल चिकित्सक सङ्घले दिने भनिएको ११० क्षमताको अक्सिजन प्लान्ट एक महिनाभित्र सञ्चालनमा आउने र प्रदेश सरकारले उपलब्ध गराएको ३५ गरी १४५ सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट चाँडै सञ्चालनमा आउने उनले बताए । -रासस