भोली र पर्सी कोभिशिल्ड लगाएकालाई दोस्रो डोज


भोली र पर्सी कोभिशिल्ड लगाएकालाई दोस्रो डोज

File Photo

नेपालगन्ज २७ साउनः कोरोना विरुद्धको खोप कोभिशिल्डको पहिलो डोज लगाएकालाई भोली र पर्सी दोस्रो डोज खोप लगाइँदैछ ।

नेपालगन्ज उपमहानगरपालिकाले एक सूचना जारी गर्दै कोभिशिल्डको पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो खोपको डोज लगाउन लागिएको जनाएको हो ।

साउन २९ र ३० गते उपमहानगरपालिकाको २३ वटै वडामा एकैपटक कोभिशिल्डको पहिलो खोप लगाएकालाई दोस्रो मात्रा खोप लगाउने तयारी गरिएको उपमहानगरपालिकाले जनाएकोछ । कोरोना भाइरस विरुद्धको खोप कोभिशिल्ड खोप लगाएकालाई एस्ट्राजेनका खोप लगाइनेछ ।

सरकारले यसअघि साउन २५ गतेदेखि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरिसकेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

सरकारले जापान र भुटानले एस्ट्राजेनका खोप उपलब्ध गराएपछि कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई साउन २५ गतेदेखि खोप अभियान सुरु भएको हो ।

गत फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजार भन्दा बढी जेष्ठ नागरिकले भारतको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड नामक खोपको पहिलो डोज लगाएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो डोज १२ हप्तापछि लगाउनुपर्ने बताएपनि खरिद सम्झौता भएकोमध्ये १० लाख डोज खोप भारतले नदिएपछि उनीहरु दोस्रो डोज लगाउनबाट वञ्चित भएका थिए । सरकारले दोस्रो डोज लगाउन बाँकी ६५ वर्ष माथिका करिब १३ लाख ३८ हजार जनालाई खोप दिदैँछ ।