दैनिक १२० सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्टको उद्घाटन


दैनिक १२० सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्टको उद्घाटन

वाग्मती ३१ साउन : उद्योग संघ मकवानपुरले हेटौँडा अस्पतालमा निर्माण गरेको अक्सिजन जेनेरेटर प्लान्ट आज अस्पताललाई हस्तान्तरण गरिएको छ । दैनिक १२० सिलिन्डर ग्यास उत्पादन गर्न सक्ने क्षमताको प्लान्टको आज वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे ।

मुख्यमन्त्री पौडेलले प्रदेश मातहत आएपछि अस्पताललाई व्यापक सुधार गरिएको बताए । ५० शय्याको अस्पताललाई ३०० शय्याको बनाएको र अब चाँडै नै ५०० शय्याको विशाल अस्पताल बनाइने उनले जानकारी दिए ।

तीन मात्रै चिकित्सक रहने अस्पतालमा ५० भन्दा बढी चिकित्सक थप गरिएको, सघन उपचारकक्ष, एचडीयू तथा भेन्टिलेटरजस्ता सबै सुविधा सञ्चालनमा ल्याइएको जानकारी दिँदै मुख्यमन्त्री पौडेलले चाँडै नै मुटुरोग तथा अर्बुद रोग (क्यान्सर)को उपचारको छुट्टै युनिट सञ्चालनका लागि प्रदेश सरकारले काम गरिरहेको बताए ।

उनले प्रदेश सरकारले हेटौँडा अस्पतालमा ६ तले नयाँ भवन निर्माणको सुरुआत गरिसकेको जानकारी दिए । स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याइएको जनाउँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सञ्चालन गरेका १३ वटै अस्पतालमा अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन नदिने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रममा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले सबैको सहयोगबाट नै कोरोना नियन्त्रण र उपचारका लागि काम भइरहेको बताइन् । उनले सरकारलाई सहयोग गर्नेहरुलाई धन्यवाद व्यक्त गर्दै सबैको सहयोगले नै उपलब्धि हासिल हुने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले अभावमा सहयोग गर्ने उद्योगपतिलाई धन्यवाद व्यक्त गरे ।

हेटौँडा उपमहानगरका प्रमुख हरिबहादुर महतले आफूहरूले अक्सिजन अभावमा गुज्रेको अस्पतालमा विभिन्न रोकावटका बाबजुद पनि तत्कालीन रूपमा दैनिक २० सिलिण्डर उत्पादन गर्ने प्लान्ट जडान गरिएको जानकारी दिँदै महामारीको जुटेर सामना गर्नुपर्नेमा जोड दिए । -रासस