नेपालगन्जमा धुमधामका साथ ताजिया विर्सजन


नेपालगन्जमा धुमधामका साथ ताजिया विर्सजन

नेपालगन्ज ४ भदौ : कोरोना भाइरस संक्रमणकाबीच नेपाली मुस्लिम धर्मावलम्बीहरुले धुमधामका साथ ताजिया विर्सजन गरेकाछन् ।

मुस्लिम समुदायमा दुःख प्रकट गरी मनाइने मोहर्रमको अन्तिम दिन शुक्रबार धुधामकासाथ सम्पन्न भएको छ । विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणकाबीच मोर्हरम मनाइएको हो ।

कोरोनाका कारण प्रभावित बनेको यस वर्षको मोर्हरममा मुस्लिम समुदायको उत्साह कम पाइएको थियो । यद्यपी सीमित ब्यक्तिहरुले राखेको ताजिया तथा मुस्लिम समुदायका युवाहरुले प्रदर्शन गरेका विभिन्न कला प्रदर्शन हेर्नका लागि सर्वसाधरणको उल्लेख्य सहभागिता रहेको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाभित्र मात्रै नभइ जिल्लाका विभिन्न पालिकामा समेत मोर्हरम पर्व मनाइएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि सरकारले कुनैपनि धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्न/गराउन रोक लगाएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभर सभा, समारोह, उत्सव तथा भेला नगर्न निर्देशन जारी गर्दै २५ जना भन्दा बढि भेला भएको पाइएमा कारबाही गर्ने बताएको थियो । तर, कोरोना माहामारीका बीच चाडपर्व मनाउँदै गर्दा स्वास्थ्य सम्बन्धिको सजगता र सुरक्षालाई मध्यनजर नगरिदाँ यसले थप जोखिम ल्याउनसक्ने सम्भावना बढाएकोछ ।

इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुवातसँगै तामझामका साथ मनाइने मोहर्रम पर्वलाई दस दिनसम्म विभिन्न कार्यक्रमहरू गरि मनाइएको छ ।

यसरी मनाउन थालियो मोर्हरम

ईराकको करबलाको धार्मिक युद्धमा बिभिन्न षड्यन्त्र गरेर हत्या गरिएका ईमाम हुसेन र ईमाम हुसन लगायतको सम्झनामा मोहर्रम मनाइने गरिन्छ । यो दश दिनसम्म मनाउने गरिन्छ ।

हत्या गरिएका तिनै शहिदहरुको सम्झनामा तयार गरिएका बिभिन्न प्रकारका ताजिया नजिकको कर्बलामा लगेर सेलाएपछि मोहर्रमको समापन हुन्छ ।

मोहर्रमका अवसरमा नगरका बिभिन्न स्थानमा ताजिया झकिझकाउका साथ सजाइएको थियो । सजाइएका ताजियाहरुलाई बाजागाजाका साथ ढोल र नगडाका तालमा नगरको परिक्रमा गराईएको थियो ।

ताजिया विर्सजनका क्रममा ईस्लाम धर्मावलम्बीहरुले दुःख प्रकट गर्दै विभिन्न झाँकी तथा गतिविधि समेत गरेका थिए । नगरका बिभिन्न भागको परिक्रमा गरेर फूल्टेक्रा स्थित करबलामा ताजिया विर्सजन गरिएको करबला संरक्षण समितिले जनाएकोछ ।