दशैंअघि कक्षा १२ को परीक्षा हुने


दशैंअघि कक्षा १२ को परीक्षा हुने

नेपालगन्ज ७ भदौ : कोरोना भाइरस संक्रमणका कारण स्थगित कक्षा १२ को परीक्षा दशैंअघि हुनेभएकोछ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दशैंअगाडि नै गर्ने तयारी गरेको हो । परीक्षा दिने अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दशैंअगावै परीक्षा हुन सक्ने अवस्था सिर्जना भएकाले सोहीअनुसार तयारी थालिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति दिएमा दशैंअगाडि नै परीक्षा गर्न सक्ने अवस्थामा रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । सीसीएमसीले अनुमति दिएपछि १५ दिनको अग्रिम सूचना दिएर विद्यार्थीका लागि परीक्षाबारे सूचित गरिने उनले बताए ।

शहरी क्षेत्रमा अध्ययन गर्ने धेरै परीक्षार्थी परीक्षा रोकिएपछि गाउँतिर लागेकाले उनीहरूलाई परीक्षाका बारेमा अग्रिम सूचना दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

Kanti Aarogya Hospital Nepalgunj

सीसीएमसीले अनुमति दिएमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न आफूहरूलाई कुनै समस्या नभएको परीक्षा नियन्त्रक शर्माले बताए । सरकारले यसै साता मात्रै कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ ।

यसअघि बोर्डले प्रवेशपत्रका आधारमा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई खोप उपलब्ध गराइदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको थियो । यसअघि साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

कक्षा १२ को परीक्षा दुई पटकसम्म सरिसकेकाले अब सार्न नपर्ने गरी परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ ।