नेपालगन्ज: मौसममा आएको बदलिका कारण बाँके लगायत पश्चिम तराईमा भाईरल ज्वरोका बिरामीहरुको संख्या बढेकाछन् । मौसममा आएको परिवर्तनसँगै बाँके जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्न थालेको उनीहरुले बताएका छन् ।
गर्मी बढेसगै यसक्षेत्रका नीजि तथा सरकारी अस्पतालहरुमा पछिल्लो समय यस्ता बिरामीको संख्या बढ्न थालेको जनाइएको छ । उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने र खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सि“गान निस्कने लगायतका लक्षण देखिनेहरु अस्पतालमा धाउने गरेको स्वास्थ्यकर्मीहरुले बताउछन् ।
मौसम परिर्वतन, दुषित पानी र खानपिनमा सर्तकता नअपनाउदाँ भाइरल ज्वरोको विरामी बढेको चिकित्सकहरुले बताएका छन् । विरामीहरुमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने लगायतका लक्षण देखापर्ने गरेको डाक्टरहरुले बताए । यहाँका अस्पतालहरुमा विरामीको संख्या केही बढेको छ ।
जिल्लाभरका नीजि तथा सरकारी स्वास्थ्य संस्थाहरुमा दैनिक १५–२० जनासम्म भाइरल ज्वरोको उपचारका लागि इमर्जेन्सी पुग्ने गरेका छन् । यसमा १०३ डिग्रीसम्म ज्वरो देखिएको उनीहरुले बताएका छन् । भाईरल ज्वरो तीनदेखि पाँच दिनसम्म आफैं निको हुने मान्यता रहे पनि हाल सात दिनभन्दा पनि बढी समय लिइरहेको डाक्टरहरुको भनाई छ ।
सामान्य अवस्थाभन्दा विरामीको संख्या केही बढेको भएपनि भाईरल प्रकृतिको ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने विरामी कमै संख्यामा रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रुपानन्द अधिकारीले बताए । अस्पताल र क्लिनिकहरुमा समेत भाइरल ज्वरो र टाईफाइडका विरामीको संख्या बढेको छ ।
‘अहिले सिजनलरुपमा भाईरल ज्वरो देखिनु सामान्य हो । दुषित पानीको प्रयोग, असावधानी र ज्वरोसमेत तत्कालै सर्ने भएकाले अहिले विरामीको संख्या केही बढ्दै गएको छ,’ उनले भने, ‘अस्पतालमा भाईरल ज्वरोका विरामीहरुको चाप बढिरहेको छ ।’ ग्रामीण क्षेत्रमा भाईरल ज्वरोका विरामी बढी रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
उनीहरुका अनुसार उपचार नगरी धेरैजसो सिटामोलमा मात्र भरपर्ने गरेकाले पनि ग्रामीण क्षेत्रमा विरामीहरुको संख्या बढ्दै गएको हो । गर्मी मौसम सुरु भएसँगै भाईरल ज्वरोका विरामी बढेको भए पनि आत्तिनुपर्ने अवस्था नभएको स्वास्थ्यकर्मीको भनाई छ । यो सामान्य रोग भएपनि समयमै उपचार नगराए मानिसको ज्यानसमेत लिने गर्दछ ।
यो रोग स्वासप्रश्वासबाट एकअर्कामा सर्ने भएकाले यसबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ । हाल देखिएको भाईरल ज्वरोमा रोगीले सबैभन्दा पहिले टाउको दुखाइको समस्या देखिने गरेको छ । एक–दुई दिन टाउको दुखाइस्पछि ज्वरोले समेत समात्छ र त्यसपछि रुघा लागेजस्तो लक्षण देखिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.अधिकारीले बताए ।
उनका अनुसार अन्य कुनै कडा लक्षण नदेखिए ज्वरो भएको दुई–तीन दिनसम्म सिटामोल र एन्टिएलर्जिक औषधि उपयोग गर्न सकिन्छ । धेरैजसो भाईरल ज्वरो प्रभावितहरुले डाक्टरको सल्लाह बिनै एन्टिबायोटिक औषधि खाने गरेकोले त्यसो नगर्न आग्रह गर्दै उनले भाईरल ज्वरोमा चिकित्सकको सल्लाह लिएर मात्र औषधि सेवन गर्नुपर्ने बताए ।